माधव झलनाथको निष्कर्ष : पार्टी एकताका लागि ओलीको राजीनामा अनिवार्य शर्त-Sutra News

माधव झलनाथको निष्कर्ष : पार्टी एकताका लागि ओलीको राजीनामा अनिवार्य शर्त

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपालको समूहले पार्टीको एकतालाई अक्षुण राख्न प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामालाई अनिवार्य शर्त मानेको छ ।



बिहीवार आफ्नो समूहका करीब ८५ नेताहरूलाई नेपाल-खनाल समूहले भर्चुअल मिटिङ राखेको थियो । बैठकमा जनवर्गीय संगठनका प्रमुखहरूसमेत सहभागी थिए ।

बैठकमा लगभग सबै जनवर्गीय संगठनका प्रमुखहरूले ओलीसँग मिलेर जान नसकिने धारणा राखेका थिए । पार्टी एकता जोगाउन निरन्तर ओली समूहसंग वार्तामा रहेका योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेसमेत बैठकमा सहभागी थिए ।

बैठकमा भुसालले ओलीले आफ्नो प्रयासलाई दाउपेचका रूपमा मात्र लिएको बताएका थिए ।

‘एकता गर्ने उद्देश्यका साथ हामीले गरिरहेको प्रयासलाई ओलीले दाउपेचका रूपमा मात्र लिइरहेका छन् । आफू कमजोर हुँदा वार्ताको पासा फ्याँक्ने र बलियो छु जस्तो लागे पार्टीबाट नै निकाल्नेसम्मको हर्कतहरू भइरहेका छन्,’ भुसालले बैठकमा भनेको कुरा उदृत गर्दै एक जनवर्गीय संगठन प्रमुखले सूत्रन्यूजसँग भने ।

बैठकमा धेरैजसो नेताहरूले एकता गर्ने भए पनि छिटो गर्न, विद्रोह गर्ने भए पनि छिटो गर्न नेतृत्वलाई सुझाव दिएका थिए ।

‘हाम्रो शक्ति क्षीण भइरहेको छ,’ बैठकमा सहभागी ती जनवर्गीय संगठन प्रमुखले भने, ‘ओलीसँग मिलेरै जाने हो भने पनि छिटो गर्नुपर्छ । होइन, विद्रोह गर्ने हो भने पनि छिटो गर्नुपर्छ । अन्यथा हामी हाम्रो अस्तित्व नै मेटिने स्थितिमा पुग्नेछौं ।’

बैठकमा सहभागी जगन्नाथ खतिवडाले यदि एकता चाहेको हो भने ओलीले तुरुन्त प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने भन्दै बोलेका थिए ।

उनले भने, ‘ओलीले एकपछि अर्को असंवैधानिक कदमहरू चालिरहेका छन् । यदि एकता चाहेको हो भने तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ ।’

आजको भर्चुअअल भेलामा नेता खनालले पार्टीलाई अघि बढाउन युवापुस्ताको भूमिका रहेको बताएका थिए ।

छलफलमा ओलीले राजीनामा दिएमात्र एमालेको एकता सम्भव भएको निष्कर्ष निकालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट