होम आइसोलेसनमा रहेका संक्रमितसँग कसरी व्यवहार गर्ने ?-Sutra News

होम आइसोलेसनमा रहेका संक्रमितसँग कसरी व्यवहार गर्ने ?

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

अहिले नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन्।



काठमाण्डू उपत्यकासहित घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी क्षेत्रमा यस्ता सङ्क्रमितको सङ्ख्या बढी रहेको बताइन्छ।

यस्तो अवस्थामा सङ्क्रमितहरू भएको घर तथा डेरामा बस्ने सङ्क्रमण नभएका व्यक्तिहरूले कोरोनाभाइरसबाट जोगिने उपायहरू अपनाउनु पर्ने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमण नभएका परिवारका सदस्यसँग साँघुरो स्थान र एउटै शौचालय प्रयोग गर्दा सङ्क्रमितलाई पनि असहज अनुभव हुने पहिला सङ्क्रमण भएका मानिसहरू बताउँछन्।

चिकित्सकहरू सङ्क्रमितसँग घरमै बस्दा कस्ता सतर्कता तथा सुरक्षात्मक उपायहरू अपनाउन सल्लाह दिन्छन् त?

सङ्क्रमित हुँदाको अनुभव

सङ्क्रमितका अनुभवमा एकाघरमा बस्दाको अवस्था सहज हुँदैन। तर सुरक्षात्मक उपाय अपनाएर तथा परिवारका सदस्यभन्दा छुट्टै बसेर सङ्क्रमणबाट अन्यलाई बचाउन सकिने अनुभव केही सङ्क्रमितको छ।

सङ्क्रमणमुक्त भइसकेका भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका सागरकुमार भट्टराईले घरमा छुट्टै शौचालयको व्यवस्थापन गर्न सकेकाले सहज भएको बताए।

“हाम्रो घरमा अन्य परिवारका सदस्यलाई प्रयोग गर्न र मलाई फरक-फरक शौचालय भएकाले सजिलो भयो,” साढे तीन वर्षको छोरासहित आठ जनाको परिवारमा बस्ने भट्टराईले भने।

तर सङ्क्रमण भएपछि परिवारका अन्य सदस्यले कुरा बुझे पनि बालबालिकालाई कुरा बुझाउन नसकिने भएकाले निकै असहज भएको अनुभव उनको छ।

“छोराले मलाई किन बाबाले माया गर्नु नभएको? किन बोक्नु नभएको? किन मेरो छेउमा आउनु नभएको? भन्ने प्रश्न गर्दा मनमा चिसो पस्थ्यो,” उनले भने।

छोरालाई सङ्क्रमणबाट जोगाउनका लागि उसलाई मामाघर पठाएर आठ-दश दिन राखेको भट्टराईले बताए।

मानसिक तनाव

सङ्क्रमित भएपछि सुरुमा निकै चिन्ता लागेको बताउने भट्टराईले ‘केही दिनसम्म लगातार ज्वरो आएपछि मरिन्छ कि’ जस्तो लागेको सुनाए।

त्यसपछि घर परिवारका अन्य सदस्यलाई सरेर गाह्रो बनाउला भन्ने पिर परेको भट्टराई बताउँछन्।

तर आफ्नै कोठामा खाना खाएको र शौचालय छुट्टै प्रयोग गर्नुका साथै सरसफाइमा पनि ध्यान दिएकाले त्यस्तो अवस्था नआएको अनुभव गरेका छन्।

यद्यपि कोठामा बस्दा एक्लो महसुस गरेको र दिमागमा नकारात्मक कुरा मात्र आएको उनले अनुभव गरे।

अन्य रोगमा जस्तो कसैले नजिकै आएर हेरचाह गर्न नमिल्ने भएकाले मानसिक रूपमा चाहिँ आफू निकै कमजोर भएको जस्तो लागेको उनी बताउँछन्।

बीबीसीबाट

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट