उपप्रधानमन्त्री बन्दै राजेन्द्र महतो, गृहमन्त्रालयमा ‘बादल’कै दाबी  -Sutra News

उपप्रधानमन्त्री बन्दै राजेन्द्र महतो, गृहमन्त्रालयमा ‘बादल’कै दाबी  

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधानमन्त्री बन्ने भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको चुनावी सरकारमा जसपाका महन्थ ठाकुर पक्षबाट महतोलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको जसपा स्रोतले जानकारी दिएको छ ।



उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको नेतृत्व महतोले गर्नेछन् । शरतसिंह भण्डारीलगायत अन्य केही नेताहरूले आज सपथ गर्नेछन् ।

सपथग्रहण साँझ ६ बजे हुने बताइएको छ । जसपाको ठाकुर पक्षले ८ मन्त्री र २ राज्यमन्त्री मागेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजै ओली र ठाकुरबीच भेटवार्ता भएको थियो । ठाकुरले १० जनाको नाम ओलीलाई बुझाएर बाहिर निस्किसकेका छन् ।

पूर्वमाओवादी नेताहरूले नेतृत्व गरेको ७ मन्त्रालय यतिबेला खालि छन् । ती सबै मन्त्रालयमा जसपाका नेताहरू मन्त्री दाबी गरिरहेका छन् ।

तर सर्वोच्च अदालतले असंवैधानिक भन्दै गृहमन्त्री पद खारेज गरिदिएका पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्री दाबी गरेको बुझिएको छ ।

संसद नरहेको अवस्थामा गैरसांसद पनि मन्त्री बन्न सक्ने भन्दै बादलले पुनः गृहमन्त्री दाबी गरेका हुन् । बालुवाटार स्रोतका अनुसार बादलको दाबीलाई प्रधानमन्त्री ओलीले ‘हेरौंला’ भनेर जवाफ दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट