काठमाडौं- पटक-पटक मन्त्री बनेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो केपी शर्मा ओली नेतृत्वको चुनावी सरकारको उपप्रधानमन्त्री बनेका छन् । उनी पटक-पटक मन्त्री बनेको भए पनि उपप्रधानमन्त्री पहिलोपटक बनेका हुन् । पार्टीभित्रको शक्ति संघर्षमा महतोले जसपाका अध्यक्ष महन्थ ठाकुरलाई दह्रो गरी साथ दिएका थिए ।
जसपाभित्र अध्यक्ष उपेन्द्र यादव पक्ष भने ओली सरकारमा सहभागी नहुने अडान राख्दै आएको थियो ।
यादव पक्षले अहिले ठाकुर र महतोसँगै थप २ जनालाई कारवाही गरिसकेको छ । २०७४ सालको आमनिर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उपसभापति तथा प्रभावशाली नेता विमलेन्द्र निधिलाई हराएर सांसद बनेका थिए । महतो एक समयमा काठमाडौंमा व्यापारी थिए ।
२०४६ सालको आन्दोलनअघि राजनीतिमा खासै नदेखिएका महतो काठमाडौंमा व्यापार गरेर बस्थे । उनले ट्राभल एजेन्सी, कुरियर सेवा, मोटर सेवा लगायतका व्यवसाय चलाउने गर्दथे । महतोले कानूनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनलाई गजेन्द्रनारायण सिंहले तत्कालीन सद्भावना परिषदमा ल्याएका थिए । त्यसपछि उनको राजनीतिक यात्रा शुरू भएको थियो ।
२०४८ सालको आम निर्वाचनमा महतोलाई सर्लाहीबाट उठाइयो । तर उनी पराजित भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पनि उनी कांग्रेसकी उम्मेदवार मीना पाण्डेसँग पराजित भए । तर तेस्रो पटकको प्रयासमा २०५६ सालको आमनिर्वाचनमा सोही क्षेत्रबाट महतो बिजयी भएका थिए ।
उनको बिजयी यात्रा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा रोकिएन । तर २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा तराई-मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग महतो पराजित हुन पुगे । महतो नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक मन्त्री बनेका थिए । पहिलोपटक नै ‘मालदारु’ मन्त्रालय खाएका महतो त्यसपछि लगभग प्रत्येक सरकारमा गइरहे ।
केपी ओली नेतृत्वको पछिल्लो सरकारमा महतो उपप्रधानमन्त्रीका रूपमा सहभागी भएका छन् । महतोलाई पटक-पटक भारतीय नागरिकका रूपमा उभ्याइन्छ । उनले नागरिकतासम्बन्धी सोधिएको एक प्रश्नमा यसको सही र स्पष्ट जवाफ दिन सकेका थिएनन् । उनले भन्दा उनका बुबाले पछि नेपालको नागरिकता लिएका थिए ।
संविधान बनेपछि भारतले नेपालमाथि गरेको नाकाबन्दीको समर्थन गर्दै महतोले सीमा अवरुद्ध गर्ने कामसमेत गरेका थिए । भारतीय नाकाबन्दीको विरोध गर्ने केपी शर्मा ओलीले तिनैलाई उपप्रधानमन्त्री उपहार दिएका छन् । त्यतिबेला केपी ओलीको विरोध गर्नेमध्ये महतो सबैभन्दा माथि थिए ।
महतोको जन्म सन् १९५८ को नोभेम्बर १९ मा भएको थियो । उनले आफ्नो जन्म सर्लाही जिल्लाको बबरगंजमा भएको दाबी गर्ने गरेका छन् तर जन्मस्थान भने अहिलेसम्म विवादित छ ।