काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक सङ्गठनलाई विधि र प्रणालीमा अघि बढाउने चालेको कदम सोचेभन्दा सन्तोष ढङ्गबाट अघि बढेको बताएका छन् ।
नेपाली सेनाको नेतृत्व संहालेको एक हजार दिन पूरा भएको उपलक्ष्यमा आज आयोजित पत्रकार भेटघाटमा उनले घोषणा गरेका कार्यक्रम कार्यन्वयनका लागि गरिएको प्रतिबद्धता, लिएको सङ्कल्प र अठोटको कसीबाट मूल्याङ्कन गरिंदा सन्तोष लिने धेरै ठाउँ रहेको स्पष्ट गरे ।
उनले भने, ‘सैनिक ऐनको मस्यौदा तयार, प्रतिरक्षा विश्वविद्यालय स्थापना, सङ्गठनको तीन प्लस वान कमाण्ड अवधारणा, सिपाहीको १६ वर्षमा पेन्सन हुने व्यवस्था र सङ्गठन पुर्नसरचना योजनाजस्ता महत्वपूर्ण एवं दूरगामी कार्यक्रम अघि बढेको छ ।’
प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो ।
प्रधानसेनापतिमा २०७५ भदौ २४ गते तीन वर्षे कार्यकालका लागि नियुक्ति पाउनभएका थापाको कार्यकाल आगामी भदौ २३ गतेम्म रहेपनि आजैदेखि नेतृत्व हस्तान्तरण प्रकृयाको विन्दु प्रारम्भ गरेको जानकारी दिए ।
प्रधानसेनापति थापाले सकल दर्जालाई एक हजार दिन पुगेको उपलक्ष्यमा सम्बोधन गर्दै अब आफू नेतृत्व हस्तान्तरण प्रकृया विन्दुको चरणमा पुगेको जानकारी गराएका थिए ।
सङ्गठनको ओज र गरिमा बढाउन आफूले चालेका विधि, प्रकृया, प्रणाली र पद्दति पूर्ण कार्यान्वयन भएसँगै सेनाको शान, मान र सम्मान स्वतः स्थापित हुने बताउँदै प्रधानसेनापति थापाले मातृधर्मलाई आत्मसात गर्दै देश र जनताको हितमा काम गरेकै कारण सबैको विश्वासमा काम गर्न अनुकूलता मिलेको हो भने । उनले भने, ‘सङ्गठनभित्र आउने जस्तो सुकै समस्या विधि र प्रणालीका आधारमा समाधान खोज्ने नेतृत्वमा अठोट हुनुपर्छ ।’
एक प्रश्नको जवाफमा उनले कोरोना नियन्त्रणका लागि सम्पूर्ण तह र तप्काबाट सामूहिक भावना र पहल हुनुपर्छ, आवश्यकता अनुसार रणनीतिलाई पुनरावलोकन गर्दै अघि बढनुपर्नेमा जोड दिए । सञ्चारकर्मीको जिज्ञासामा प्रधानसेनापति थापाले सैनिक सङ्गठनभित्र ठेक्कापट्टाका नाममा अनियमित र दायाँवायाँको कुनै सम्भावना र गुन्जायसको अवस्था नरहेको स्पष्ट पारे ।
प्रधानसेनापति थापाले कोभिड–१९ सङ्क्रमण नियन्त्रण प्रतिकार्यमा विशेष योगदान पुर्याएका दुई हजार १०९ जना सकल दर्जालाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरेका थिए ।