काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेको माधव नेपाल पक्षलाई पार्टी २०७५ जेठ ३ मा फर्काएपछि प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दुई-दुई पटक गरेका संसद् विघटनलगायत सबै राष्ट्रघात माफ हुन्छन् भनेर प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष ओलीले पार्टी एकताका लागि भन्दै आइतबार पार्टीलाई असन्तुष्ट माधव नेपाल पक्षकै मागबमोजिम २०७५ जेठ २ गतेमा फर्काउने घोषणा गर्दै ६ बुँदे प्रस्ताव गरेका छन् ।
यसै सन्दर्भमा डा.भट्टराईले नेपाल पक्षलाई पार्टी एकता गर्दैमा अध्यक्ष ओलीले दुई-दुई पटक प्रतिनिधिसभा विघटन गरेको, संवैधानिक आयोगहरूमा गरिएका अवैधानिक नियुक्ति, लाखौं भ्रष्टाचार, कोरोनापीडितलाई बिल्ली पारेको जस्ता सबै कदम क्षम्य हुने हो भनेर जिज्ञासा राखेका हुन् ।
उनले भनेका छन्, ‘एमाले कणहरूसँग जिज्ञासा: तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चुलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यसयता ओलीले गरेका २/२ पटकका संसद् विघटन, संवैधानिक अंगहरूको अवैध कब्जा, यति/ओम्नीलगायतका अर्बौंको भ्रष्टाचार, सांसद अपहरण, कोरोनापीडित लाखौंको बिचल्ली, अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?’
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
— Baburam Bhattarai (@brb1954) June 6, 2021