माधव समूहका ४ नेता ओलीतिर जाँदै, देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट हस्ताक्षर फिर्ता गर्ने तयारी-Sutra News

माधव समूहका ४ नेता ओलीतिर जाँदै, देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट हस्ताक्षर फिर्ता गर्ने तयारी

सोमबार, २४ जेष्ठ २०७८

सोमबार, २४ जेष्ठ २०७८

एमालेलाई एकताबद्ध राख्न भन्दै प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव अघि सारेपछि माधवकुमार नेपाल समूहका नेताहरू तनावमा देखिन्छन् ।



स्रोतको दाबीअनुसार तत्काल ४ जनाले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई गरिएको प्रस्तावमा रहेको आफ्नो हताक्षर फिर्ता लिने तयारीमा छन् । अदालतमा पेश गरिएको १ सय ४६ हस्ताक्षरमध्ये २३ नेपाल समूहका नेताको छ ।

‘योगेश भट्टराईलगायत ४ जना हस्ताक्षर फिर्ता लिएर संस्थापन पक्षमा आउन तयार देखिनुभएको छ,’ बालुवाटारनिकट स्रोतको दाबी छ ।

ओलीले अघि सारेको ६ बुँदे प्रस्तावको मूल सार भनेको पार्टीलाई २०७५ जेठ ३ मा फर्काउनु हो । गत फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेकपालाई विभाजन गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

अदालतको आदेशअनुसार पार्टीलाई एकताअघिको पूर्ववत अवस्थाबाट संचालन गर्नुपर्ने माग वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पनि थियो । ओलीले त्यो माग स्वीकार गर्न तयार रहेको आशयका साथ विज्ञप्ति निकालेका थिए ।

विज्ञप्तिलगत्तै नेपालनिकट मानिने नेता योगेश भट्टराईले त्यसको स्वागत गरे । हजार माइलाको यात्रा पनि पहिलो पाइलाबाट नै शुरू हुन्छ भन्दै भट्टराईले ओलीको विज्ञप्तिलाई सकारात्मक भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् – ‘नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान मूलतः सकारात्मक छ । कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधानगर्ने छ ।’

उनले सर्वोच्चमा विचाराधीन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मूलतः संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने रायसमेत दिएका छन् ।

एमालेका नेता खगराज अधिकारीले केही नेताहरू संस्थापन पक्षमा फर्किन मन बनाइसकेको दाबी गरे । ‘केही साथीहरू फर्किनुहुन्छ जस्तो लागेको छ,’ अधिकारीले सूत्रन्यूजसँग भने, ‘प्रधानमन्त्रीज्यूले अधिकतम लचकता अपनाउनु भएको हो । यसलाई पनि नमान्ने हो भने त किन राजनीति गर्नु ?’

अधिकारीले ओली पक्षमा खुल्न लागेका नेताहरूको नाम भने सार्वजनिक गर्न चाहेनन् ।

स्रोतका अनुसार भट्टराई, गोकर्ण बिष्ट र सुरेन्द्र पाण्डेको एउटा टीम ओलीको विज्ञप्तिलाई सकारात्मक रहेको निष्कर्षका साथ छलफलमा जुटेको छ ।

ओलीले फ्याँकेको राजनीतिक पासाका कारण आफ्नो शक्ति थप क्षयीकरण हुने भन्दै नेता नेपालसमेत तनावमा देखिन्छन् । आजै नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।

नेता नेपालसँग छलफल गरेलगत्तै प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्न बुढानीलकण्ठ पुगेका थिए ।

आजै नेपालपक्षीय नेताहरूबीच भर्चुअल बैठकसमेत बसेको थियो । बैठकमा ओलीले एकताका लागि प्रस्ताव नल्याएको भन्दै वेदुराम भुसाल र युवराज ज्ञवालीलगायतका नेताहरूले चर्को आलोचना गरेका थिए ।

भुसालले भने, ‘हामी शर्तसहित एकता मान्दैनौं । एकता निशर्त हुनुपर्छ । एकताका लागि यसअघि नै हामीले वैशाख २६ गते आफ्ना प्रस्तावहरू पेश गरिसकेका छौं । त्यसलाई मान्ने हो भने बल्ल एमाले एक हुन सक्छ ।’

उनले आफ्नातर्फबाट केही नेताहरू ओलीतिर जान लागेको कुरा अफवाह मात्रै रहेको दाबी गरे ।

यस्तो छ ओलीले गरेको ६ बुँदे प्रस्ताव –

१. नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन् ।

२. मातहतका पार्टी कमिटी र जनसङ्गठनहरु मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् ।

३. सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरु कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ ।

४. आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ ।

५. यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमी–कमजोरीलाई लिएर कुनै कार्बाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन ।

६. नेकपा (एमाले) लाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रुपले एकतावद्ध, अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरुले रचनात्मक योगदान गर्नु हुने छ ।

यस्तो छ माधव नेपाल समूहले गत वैशाख २६ गते पेश गरेको ६ बुँदे प्रस्ताव :

१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने। 

२) नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने । 

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने । 

४) पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने । 

५) सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।

६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट