नेकपा एमालेका माधव-झलनाथ पक्षका नेता घनश्याम भुसालले आफुविरुद्ध अनर्गल प्रचार शुरु भएको बताएका छन् ।
भुसालले सोमबार फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले एकताको कुरा गर्दा अरुले त्यसलाई आत्मसमर्पणको रुपमा र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्न एक समूह नै तयार भएको उल्लेख गरेका छन् ।
‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ,’ उनले लेखेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’