काठमाडौं- नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीको शीर्ष नेतृत्वबाट युवा नेताहरु सखाप भएको संकेत गरेका छन् । तत्कालीन पञ्चायत व्यवस्था सत्ताकै संरक्षणमा रहेको मण्डले समूहको हर्कतबाट समाप्त भएको दृष्टान्त दिँदै उनले अहिले एमालेमा पनि त्यस्तै ‘मण्डले’हरु सत्ताको संरक्षणमा रहेको दाबी गरेका छन् ।
संस्थापनबाट कारबाहीमा परेका आफूहरु अहिले पार्टी एकताको प्रयासमा रहेको भुसालले बताएका छन् । यो प्रयासलाई अध्यक्ष ओलीपक्षका केही नेताले समूह नै बनाएर आत्मसमर्पण गरेको व्याख्या गर्दै उच्छृङ्खल प्रचार गरेको भुसालको दुःखेसो छ ।
‘फेरि हाम्राविरुद्ध अनर्गल प्रचार सुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ । पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो,’ अध्यक्ष ओलीपक्षका नेताको सो समूहप्रति लक्षित गर्दै भुसालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई प्रश्न गरेका छन्, ‘पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन । त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’