काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।
एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।
माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएको एमाले प्रदेश अध्यक्ष कर्ण थापाले बताए ।
बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।
एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । पूर्वनेता माधव नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।
कांग्रेसले अहिलेसम्म पक्ष-विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन भने जसपाले केन्द्रमा रहेका आफ्ना पार्टीका नेतासँगको छलफलपछि निर्णय लिने बताउँदै आएको छ । जसपाका दुई सदस्य महन्थ ठाकुर पक्षका मानिन्छन् ।