सुदूरपश्चिम प्रदेश सरकारले काँग्रेस र एमालेको सहयोगका कारण विश्वासको मत प्राप्त गरेको छ ।
प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिन प्रस्ताव पेश गरेका थिए ।
प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने उनको विपक्षमा ९ मत परेको थियो ।
प्रदेशसभामा सभामुखबाहेक एमालेका ३७ सदस्य छन् । तर आज मुख्यमन्त्री भट्टले जम्मा ३० मत प्राप्त गरे । नेकपा एमालेका ओली पक्षका सात सदस्यले प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेका गरेका हुन् ।
‘फ्लोर क्रस’ गर्ने सदस्यहरुलाई कारबाहीको तयारी भएको एमाले संसदीय दलकी सचेतक दुर्गा विकले बताएकी छन् ।
एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए ।
माओवादी पक्षका मुख्यमन्त्री त्रिलोचन भट्टले मङ्गलबार बिहान विश्वासको मत लिने भएकाले एमालेले विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशन दिएका थिए ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।