जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्षमा रहेका नेता राजकिशोर यादवलाई पछिल्लो मन्त्रिमण्डलमा समावेश गरिएन । तर आज हुने भनिएको पुनर्गठनमा उनी उद्योगमन्त्री बन्ने भएका छन् ।
ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ८ मन्त्री र २ राज्यमन्त्री मागेका थिए । ठाकुरकै मागबमोजिम ओलीले जसपाको ठाकुर पक्षलाई मन्त्रालय छुट्याए । तर त्यसमा यादव छुटेका थिए ।
आफूलाई मन्त्री नबनाएपछि यादव रुष्ट हुने नै भए । उनले ठाकुरलाई विद्रोह गरेर उपेन्द्र यादव पक्षमा जाने चेतावनी दिए ।
ठाकुरनिकट स्रोतले सूत्रन्यूजलाई बताएअनुसार विगत केही दिनयता यादवले ठाकुरसँग पटक-पटक मन्त्री चाहिन्छ भन्ने गरेका थिए । ठाकुरले जसपाको कोटा सकिएकाले अन्त कहीं नियुक्ति या अर्कोपटक मन्त्री बनाउने आश्वासन दिए ।
यादवले आफू विद्रोह गरेर उपेन्द्र समूहमा लाग्ने बताएपछि ठाकुरले आफू अप्ठेरोमा परेको भन्दै ओलीसँग याचना गरे ।
ओलीले ‘ल ठीकै छ नि त !’ भन्दै यादवलाई उद्योगमन्त्रालय दिने भएका हुन् ।