नेपाल समूह फुटाउन सफल भएको ओलीको निष्कर्ष, बदल्दै रणनीति-Sutra News

नेपाल समूह फुटाउन सफल भएको ओलीको निष्कर्ष, बदल्दै रणनीति

आइतबार, ३० जेष्ठ २०७८

आइतबार, ३० जेष्ठ २०७८

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नै पार्टीका माधवकुमार नेपाल समूहप्रति नरम बन्दै जान थालेका छन् ।



सर्वोच्च अदालतको संवैधानिक इजलासको पछिल्लो संरचनाले संसद पुनःस्थापना गर्ने सम्भावना देखेपछि ओलीले नेपाल समूहका नेताहरूलाई थप नचिढ्याउने बरू एकताको हात बढाउने रणनीति अख्तियार गर्न थालेका हुन् ।

संसद पुनःस्थापना भए देश फेरि संसदीय अंकगणितको खेल शुरू हुने बुझेका ओलीले केही ‘हार्डलाइनर’ नेताबाहेक बाँकीसँग सम्बन्ध सुमधुर बनाउन खोजेका हुन् । यसको उदाहरण बागमती प्रदेशमा पनि देखिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले अष्टलक्ष्मी शाक्यसँग छलफल गरेरै सरकारको नीति तथा कार्यक्रम पास गरेका छन् । योगेश भट्टराई र गोकर्ण बिष्टलगायतका नेताहरूले निरन्तर व्यक्त गरिरहेको धारणाले पनि नेपाल समूहप्रति ओली केही नरम भएको संकेत गरेको छ ।

एमालेका प्रमुख सचेतक तथा ओलीनिकट नेता विशाल भट्टराईले पछिल्लो समय नेपाल समूहलाई हेर्ने ओलीको रणनीति बदलिएको स्वीकार गरे ।

भट्टराईले सूत्रन्यूजसँग भने – ‘असन्तुष्ट समूहप्रति प्रधानमन्त्रीको दृष्टिकोण मूलतः पहिल्यैदेखि एक छ तर पछिल्लो समय त्यो समूहलाई पार्टीमै फर्काउन सकिन्छ कि भनेर उहाँ केही लचक बनेको सत्य हो ।’

ओलीले नेपाल समूहमा विग्रह बढ्न थालेको निष्कर्ष आफूनिकट नेताहरूलाई सुनाउने गरेका छन् ।

‘त्यहाँ पनि हार्डलाइनर छ, सफ्ट लाइनर छ । अध्याँरो कोठाभित्र एमालेलाई जुनसुकै हालतबाट विभाजन गराउने कसम खाएकाहरू पनि छन्,’ भट्टराईले भने, ‘सकेसम्म सबैलाई पार्टीभित्रै फर्काउने प्रयास जारी छ, भएन असन्तुष्ट समूहमा एकाध नेता मात्र बाँकी रहने प्रधानमन्त्रीको बुझाइ हो ।’

राजनीतिमा आफू कमजोर बन्ने आभास ओलीलाई हुनेबित्तिकै लचक बन्ने र आफू शक्तिशाली नै छु भन्ने छनक पाएपछि भटाभट कारवाही गर्ने ओलीको स्वभाव छ । नेपाल समूहका नेताहरूले ओलीको यो स्वभाव बुझेको र कुनै पनि ‘ललीपप’मा नफस्ने बताउने गरेका छन् ।

केही दिनअघि सर्वोच्च अदालतले ओली नेतृत्वको दशौँ महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयहरू खारेज हुने फैसला गरेको थियो । ओलीको कारवाहीमा परेका नेपाल समूहका सांसदहरूको कारवाहीलाई अदालतले फुकुवा गरिदिएको छ भने नागरिकतासम्बन्धी अध्यादेश पनि कार्यान्वयन नगर्न आदेश दिएको छ ।

ओली र उनीनिकट नेताहरूले अदालतको आदेशबमोजिम २०७५ जेठ २ मा फर्किने आश्वासन नेपाल समूहका केही नेताहरूलाई दिएका छन् ।

तर नेपाल समूह भने ओली थप कमजोर बन्दै गइरहेको निष्कर्षमा पुगेको छ । ‘ओली कमजोर बन्दै गइरहेका छन् त्यसैले एकताको राग अलापिरहेका छन् । हामी ओलीको जालमा फँस्दैनौं,’ नेपालसमूहका एक नेताले भने ।  

ओली अहिले विपक्षी गठबन्धनको घेरामा परेका छन् । पार्टीभित्र पनि ठूलो समूह ओलीविरुद्धमा छ । संसदमा ओली अल्पमतमा थिए/छन् भने विदेशी शक्तिकेन्द्रले पनि बिस्तारै ओलीको साथ छोड्दै गएको देखिन्छ ।

कथंकदाचित संसद पुनर्स्थापित भइहाल्यो भने आफ्नै नेतृत्वमा चुनाव गराउने ओलीको आकांक्षामा पनि ठेस लाग्नेछ ।

५ जना पूर्व प्रधानमन्त्रीले ओली विदेशी शक्तिकेन्द्रको गोटी भएको भन्दै विज्ञप्तिमार्फत सबैको ध्यानाकर्षण गर्न खोजेका छन् । नेपालको आन्तरिक मामिलामा बाह्य पक्षबाट हस्तक्षेप भएको भन्दै शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले संयुक्त रूपमा विज्ञप्तिसमेत जारी गरिसकेका छन् ।

पूर्व प्रधानमन्त्रीहरूले यस किसिमको विज्ञप्ति निकाल्नुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ । विज्ञप्तिले नेपालस्थित विदेशी कूटनीतिक संस्थाहरूको समेत ध्यानाकर्षण गराएको छ ।

केही दिनअघि जसपाका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले आफूले मध्यरातमा निकै गोप्य सूचना पाएको भन्दै अन्तर्वातासमेत दिएका थिए । विदेशमा सरकारका पूर्वप्रमुखहरूबाट आउने यस्ता अभिव्यक्तिलाई गम्भीर ढंगले हेरिन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट