काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई मान्यता नदिने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले गरेको कारबाहीलाई मान्यता नदिने निर्णय आयोगले गरेको बताएका हुन् ।
‘एक अध्यक्षले अर्कोलाई निकालेको अद्यावधिक गर्न भनिएकोमा हामीले राजीतिक दलसम्बन्धी ऐनअन्तर्गत नमिल्ने भनेका छौं’, उनले भने ।
यसअघि डा.भट्टराई–यादव पक्षले ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो भने ठाकुर–महतो पक्षले यादवलाई निष्कासन गरेको थियो ।
जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार जनालाई कारबाही गरेको थियो भने यादव पक्षले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको थियो ।