काठमाडौं- कोरोना संक्रमित भई लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष पारस मुकारुङले श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् ।
श्रेष्ठले दुई हप्ता ह्याम्स अस्पतालमा बिताएका थिए । श्रेष्ठ बिरामी भएसँगै उनको उपचारका लागि सरकार अघि सर्नुपर्ने भन्दै संगीतकर्मीले आवाज उठाएका थिए । तर, सरकारले उनको उपचारका लागि ठोस सहयोग नगरे पनि पूर्वराज्यमन्त्री रामवीर मानन्धरले उनलाई अस्पतालमा गएर भेटेका थिए ।