काठमाडौं- इंग्ल्याण्डले युरोकप २०२० मा विजयी सुरुवात गरेको छ । लण्डनस्थित वेम्ली रंगशालामा आइतबार साँझ भएको समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफको छैटौं मिनेटमा फिल फोडेनको प्रहार पोस्टमा लागेर फर्किएपछि इंग्ल्याण्ड सुरुवाती अग्रता लिन चुकेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा इंग्ल्याण्डका लागि ५७ औँ मिनेटमा रहिम स्टर्लिङले गरेको गोल नै निर्णायक बन्यो ।
स्टर्लिङले केभिन फिलिप्सको पासमा बललाई पोष्टको दिशा दिएका थिए । क्रोएसियाले केही सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसकेपछि हार ब्यहोर्न बाध्य भयो । जितसँगै इंग्ल्याण्डले महत्वपूर्ण तीन अंक जोड्दै समूह ‘डी’ को शीर्ष स्थान छ । पहिलो खेलमै हार ब्यहोरेको क्रोएसिया भने समूहको पुछारमा छ ।