काठमाडौं- कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले शानदार जितसहित आफ्नो यात्रा सुरु गरेको छ । समूह बी अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको हो ।
खेलको एक दिन पहिले टिमका १२ खेलाडी तथा प्रशिक्षण अधिकारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि समस्यामा आएको भेनेजुएला कमजोर देखियो ।
घरेलु टोली ब्राजिलको जितमा २३ औँ मिनेटमा मार्क्वीन्होसले गोल गरि सुरुवाति अग्रता दिलाए । ६४ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमारले गोल गरि टिमको अग्रता दोब्बर पारे । ८९ औँ मिनेटमा नेइमारको सहयोगमा गाब्रिएल बार्बोसा अल्मेइदाले गोल गरेपछि ब्राजिल ३–० ले विजयी भयो ।
साबिक विजेता ब्राजिलले उपाधि रक्षाको यात्रा सहज जितका साथ गरेको हो । नौपटक कोपा अमेरिका जितेको ब्राजिलले १२ वर्षपछि सन् २०१९ मा उपाधि जितेको थियो । समूह बी मा कोलम्बिया, इक्वेडर र पेरु पनि छन् ।