काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच सोमबार झन्डै चार घण्टा लामो भेटवार्ता भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उपप्रधान एवम् अर्थमन्त्री बिष्णु पौडेल भैँसेपाटीस्थित उनको निवास पुगेका थिए । उनीहरुबीच ९ बजेदेखि छलफल भएको हो ।
स्रोतका अनुसार उनीहरुबीच समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
आजको छलफलमा एमालेमा रहेको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
बामदेवले एमाले एकताका लागि माधव नेपाल समूहले राखेका मागहरू सम्बोधन गर्न अध्यक्ष केपी ओली तयार हुनुपर्ने बताउँदै आएका बेला ओली समूहमा रहेका पौडेल उनलाई भेट्न निवास पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीको आन्तरिक कलह समाधानका निम्ति नेपाल समूहसमक्ष ६ बुँदे प्रस्ताव अघि सारेका थिए । तर नेपाल समूहले ओलीको प्रस्तावलाई अस्वीकार गरेको थियो ।
पार्टी एकताका लागि एमालेभित्रका दोस्रो तहका नेताहरू सक्रिय छन् । पार्टीलाई फुटबाट जोगाउनु पर्नेमा उनीहरूबीच एकमत छ ।