काठमाडौं- नेपाली कांग्रेसले आफ्ना प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध दर्ता गरिएको उजुरीप्रति आपत्ति जनाएको छ । सांसद वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाउन लागिएको भन्दै कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको हो ।
वैद्यले बागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू नाथुराम गोड्से बन्न तयार रहेको आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि भोलिपल्टै माफी माग्दै संसदको रेकर्डबाट आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका थिए । तर वैद्यको उक्त अभिव्यक्तिले हत्या दुरुत्साहन गरको भन्दै नेकपा(एमाले)मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आइतबार किटानी जाहेरी दिएका छन् ।
सांसदले संसदमा बोलेका विषयमा उजुर बाजुर गर्नु र मुद्दा लगाउन नपाइने संवैधानिक व्यवस्था भए पनि राजनीतिक दबाबामा वैद्यमाथि कारबाही गर्न लागिएको भन्दै कांग्रेस दलले विरोध जनाएको हो । संविधानको धारा १८७ (१) ले प्रदेशसभामा व्यक्त विचारप्रति अयन्त्र प्रश्न उठाउन नपाउने व्यवस्था गरेको छ ।
कांग्रेस वागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अभिव्यक्ति फिर्ता लिइसकेको र संसदको रेकर्डबाट समेत हटाइसकिएको अवस्थामा मुद्दा चलाउने तयारी गर्नु आपत्ति जनक भएको बताए ।
‘युवा संघको एउटा व्यक्तिले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरी, जायरीको आधारमा दर्ता गर्ने प्रहरी कार्यालय मकवानपुरप्रति हाम्रो घोर आपत्ति छ । संविधान, कानुन, मुलुकको संसदीय मर्यादाको बर्खिलापमा गरिएको दर्ताप्रति विरोध गर्छौ । यसलाई तत्काल फिर्ता लिने काम भएन, यसलाई अगाडी बढाइयो भने नेपाली कांग्रेस संसदीय दल प्रदेश सभामा यसको डटेर प्रतिवाद गर्नेछ र जुनसुकै मुल्य चुकाउन पनि तयार छ,’सोमबार हेटौँडामा पत्रकार सम्मेलन गर्न उनले भने ।