काठमाडौं-उपाधि दाबेदारका रुपमा रहेको स्पेन युरोकप फुटबलको पहिलो खेलमा बराबरीमा रोकिएको छ ।
समूह ई मा रहेको स्पेनले सोमबार राति भएको खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको हो ।
सेभिल्लामा भएको खेलमा स्पेनले खेलको अधिकांश समय बलमा नियन्त्रण कायम गरे पनि गोल भने गर्न सकेन ।
राम्रा मौकाहरुको फाइदा पनि उनीहरुले लिन सकेनन्। अल्भारो मोराटाले गोल गर्ने राम्रो अवसर बनाएका थिए, तर उनको प्रहार पोस्ट भन्दा निकै बाहिर गयो ।
यस्तै ड्यानी ओल्मोले नजिकबाट गरेको हेडर स्वीडिस गोलरक्षकले रोके । कोकेले गरेको गोल गर्ने प्रयास पनि सफल भएन ।
समूह ई कै अर्को खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ ले पराजित गरेको छ। स्लोभाकियाले एक गोल उपहारमा पायो भने अर्को एक गोल आफै गरेको हो । पोल्याण्डले एक गोल फर्कायो भने एक खेलाडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।