काठमाडौं- कोभिड-१९ रोकथाम तथा नियत्रणका लागि जारी काठमाडौं उपत्यकाको निषेधाज्ञा (आज) मंगलबार देखि खुकुलो बनाइएको छ ।
आइतबार बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साता थप गर्ने निर्णय गरेको थियो ।
मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्ने छैन भने खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने छ । यस्तै विकास निर्माणका काममा आवश्यक पर्ने पसल (हार्डवेयर) लाई अपराह्न ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ ।
–औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु, सेवा खरिद वा लिनु पर्दा मात्र घरबाट लिन पाइने ।
–शैक्षिक संस्थाहरुले अनलाइन तथा भर्चुअल माध्यमबाट पठनपाठन कार्यहरु सञ्चालन गर्न सक्ने ।
–वैदेशिक अध्ययन तथा ईडीभीका कारण विदेश जानुपर्ने व्यक्तिहरुका लागि कुटनीतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियाका कार्यहरु सञ्चालन गर्ने ।
–तरकारी फलफूल खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसलहरु किराना पसल र डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्र) बिहान ११ बजेसम्म खुला गर्न पाइने । राति ९ बजेदेखि विहान ११ बजेसम्म स्थानीय ढुवानी सेवा सञ्चालन गर्न पाइने ।
–पुस्तक पसल र प्रिन्टिङ प्रेसको हकमा बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने । विकास निर्माणजन्य सामाग्रीका पसलहरु (छड, सिमेन्ट, बिजुलीका सामान, स्यानिटर, हार्डवेयर पसल) दिउँसो ४ बजेपछि सञ्चालन गर्न सकिने ।
–अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न सक्ने ।
–सवारी साधन मर्मताका लागि वर्कसपहरु बेलुका ९ बजेसम्म सञ्चालन गर्न पाइने ।
–विवाह ब्रतबन्धको हकमा स्वास्थ्य सुरक्षाको पालना गरेर सात जनासम्म जान पाइने । एउटा गाडी प्रयोग गर्न पाइने ।
–हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्न एयरपोर्टसम्म जानको लागि सवारी साधनको सहजीकरण गर्ने ।
–हप्तामा २ दिन खुल्ने गरी सहकारी संस्था तथा रेमिटहरु आइतबार र बिहीबार सञ्चालन गर्ने ।