एमाले प्रवेश गरेका माओवादी नेताहरूमा को ठूलो भन्ने विवाद शुरू, बादलले थाले गुट निर्माणको तयारी-Sutra News

एमाले प्रवेश गरेका माओवादी नेताहरूमा को ठूलो भन्ने विवाद शुरू, बादलले थाले गुट निर्माणको तयारी

मंगलबार, १ असार २०७८

मंगलबार, १ असार २०७८

एमालेमा प्रवेश गरेका पूर्व माओवादी नेताहरूमा को ठूलो भन्ने बहस शुरू भएको छ । समूहगत रूपमा नभई एक्लाएक्लै एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लगायतका नेताहरूबीचमै फाटो आउन शुरू भएको हो ।



गुटहरूको हालीमुहाली रहेको एमालेभित्र एक्लाएक्लै प्रवेश गरेका माओवादीका नेताहरूले गुटको आवश्यकता महसुस गर्न थालेका छन् ।

‘गुट होइन, विचार समूह भन्नुस् । त्यो हाम्रो स्ट्रेन्थ हो, पार्टीमा हुनुपर्छ र हामीले पनि त्यसको आवश्यकता महसुस गरेका छौं,’ एमाले प्रवेशी एक नेताको भनाइ छ ।

विचार समूहको नाममा गुट निर्माण गर्दा त्यसको नेता आवश्यक हुन्छ । नेता को बन्ने भन्ने बारेमा भने पूर्व माओवादीहरू एक छैनन् ।

बादलले आफ्नो नेतृत्वमा गुट निर्माणको पहल थालिसकेका छन् । केही समयअघि सर्वोच्च अदालतले असंवैधानिक भनेर बादललगायत ७ मन्त्रीहरूको जागिर खाइदिएको थियो ।

बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर चौधरी, मणि थापा र दाबा लामालाई अदालतले मन्त्रीपद बाट बर्खास्त गरिदिएको थियो ।

पार्टी फूटको संघारमा रहेकाले अहिले ती नेताहरू सक्रिय छैनन् । माधवकुमार नेपाल नेतृत्वको असन्तुष्ट पक्षले पूर्व माओवादी मन्त्रीहरूलाई निको मानिरहेको छैन ।

गुट निर्माणमा बादल लागिसकेका भएपनि टोपबहादुर रायमाझी र लेखराज भट्ट बादल गुटमा नजाने प्रष्ट पारेका छन् । उनीहरू छुट्टै गुट बनाउने तयारीमा रहेको स्रोतको दाबी छ ।

पूर्वमाओवादी नेताहरूको गुटको नेतृत्व बादलले गर्न नसक्ने भन्दै टोपबहादुर रायमाझीले नेता आफू हुन पाउनुपर्ने दाबी गर्न थालेका छन् ।

अध्यक्स केपी शर्मा ओली पार्टीभित्र र बाहिर कमजोर हुँदै जान थालेको आंकलनसहित पूर्वमाओवादी नेताहरूले गुट बनाएर बार्गेनिङ गर्ने तयारी गरेका हुन् ।

गुट बनाउँदा शक्ति बढ्ने र पार्टीभित्र थप अवसर पाइने उनीहरूको बुझाइ छ । पार्टीबाट निस्केर माओवादी केन्द्र या अन्त पनि समूहगत रूपमा जाँदा शक्ति बढ्ने ती नवाप्रवेशीले बताए ।

तर तत्काललाई माओवादी केन्द्रमा फर्किने च्याप्टर भने क्लोज भएको तिनको ठम्याई छ । ‘बदलिँदो परिस्थितिअनुसार राजनीति पनि बदलिन्छ । राजनीतिमा स्थायी शत्रु र मित्र दुवै हुँदैनन् । त्यसैले कसैप्रति वैरभाव राख्न जरुरी भएन । माओवादी केन्द्रमै फर्किने कुरा भने तत्कालका लागि च्याप्टर क्लोज भइसक्यो,’ उनले भने ।

पूर्व माओवादीका कतिपय नेताहरू भने बादलपत्नी नैनकला थापालाई मन्त्री बनाइएकोमा असन्तुष्टसमेत छन् । ७ वटा मन्त्रालय पाएको त्यो समूहले अहिले जम्मा २ वटा मन्त्रालयमा चित्त बुझाउनु परेको छ ।

एमालेकै ईश्वर पोखरेल र विष्णु पौडेलले पूर्व माओवादीको शक्तिअनुसार ७ मन्त्रालय दिन नहुने धारणा राख्ने गरेका थिए ।

केही दिनअघि सर्वोच्च अदालतले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयहरूलाई अवैध ठहर्याएको थियो । त्यसपछि एमाले प्रवेश गरेका पूर्व माओवादीहरूको राजनीतिक वैधतामा पनि प्रश्न उठेको छ ।

उनीहरूलाई दिइएको राजनीतिक जिम्मेवारीमै प्रश्न उठेपछि पूर्व माओवादी समूहका नेताहरू गुट निर्माणमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट