सडक विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारण यातायात ठप्प-Sutra News

सडक विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारण यातायात ठप्प

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

सडक विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारण मङ्गलबार करिब पाँच घण्टा पूर्वपश्चिम राजमार्ग ठप्प बन्यो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको थुम्सिस्थित डाइभर्सनमा पानीको मात्रा बढेर केही क्षति पुगेपछि पाँच घण्टा राजमार्ग नै ठप्प बन्यो । 



असार पहिलो दिन नै डाइभर्सनका कारण पूर्णरूपमा यातायात अवरुद्ध भएकामा आज बिहानसम्म एकतर्फीरूपमा मात्रै यातायात सञ्चालनमा रहेको छ । पानी परिरहेकाले कतिबेला यहाँका डाइभर्सनमा क्षति पुगी राजमार्ग अवरुद्ध हुने हो कुनै निश्चित छैन ।

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा विभिन्न स्थानामा पुल बन्ने क्रममा रहेका छन् तर वर्खा लागिसक्दा पुल निर्माणको काम नसकिँदा वर्षाभरि यो मार्ग भएर यात्रा गर्न कठिन हुने देखिएको छ । विभिन्न स्थानमा बनेका ड्राइभर्सन पानीका कारण भत्किने, पानीको मात्रा बढी हुँदा डाइभर्सन नै नदेखिने समस्याले नारायणगढ–बुटवल खण्डमा वर्षाभरि यातायात सहजरूपमा सञ्चालनमा कठिन हुने देखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

“राजमार्गको धेरै ठाउँमा डाइभर्सन छ, पुल बनिसकेको छैन, यस वर्ष नवलपुर खण्ड भएर यात्रा गर्ने सवारी तथा यात्रुहरूले सास्ती खेप्नुपर्ने देखिन्छ”, प्रनाउक गिरीले भने । राजमार्ग विस्तारका क्रममा पुल तथा कल्भर्ट निर्माणका लागि विभिन्न स्थानमा निर्माण गरिएको डाइभर्सनका कारण यस क्षेत्रमा राजमार्ग अवरुद्ध हुने जोखिम बढेको हो ।

नवलपुरको गैँडाकोट नगरपालिकाको विभिन्न क्षेत्रमा पुल तथा कल्भर्ट निर्माणका लागि डाइभर्सन निर्माण गरिएको छ । यसरी निर्माण गरिएको डाइभर्सन खोला तथा खोल्सीमा आउने बाढी थाम्न सक्ने अवस्थामा नरहेका कारण यस वर्ष यो सडकखण्डमा निकै जोखिम रहेको छ । 

पूर्वपश्चिम राजमार्ग विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले सडक मर्मतमा ध्यान नदिँदा यस क्षेत्रका अधिकांश स्थानमा राजमार्ग जीर्ण बनेको छ । यसबाट दैनिकरूपमा यात्रा गर्नेलाई समेत निकै सास्ती हुने गरेको छ । सडक विभागले ठेक्कामा गएको सडक भनेर मर्मत नगर्ने र चिनियाँ कम्पनीले एकैपटक बनाउने भन्दै मर्मतमा ध्यान नदिँदा अन्यत्रसमेत राजमार्ग जीर्ण रहेको छ ।

यसै राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक किनारमा नाली नहुँदा पहाडबाट खसेको हिलो राजमार्गमै झर्दा जोखिम बढेको छ । गत वर्ष असोज पहिलो साता आएको पहिराको कारण लामो समय राजमार्ग अवरुद्ध भएको थियो भने राजमार्ग पनि जीर्ण भएको थियो । जीर्ण भएको एक वर्ष हुन लाग्दासमेत सो सडक मर्मत नभएका कारण यस वर्ष पनि निकै जोखिम रहेको छ । दाउन्ने क्षेत्रका विभिन्न स्थानमा केही दिनदेखि परेको अविरल वर्षाका कारण साना पहिरो जाँदा मङ्गलबारदेखि एकतर्फीरूपमा यातायात सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट