पर्वतमा पहिरोका कारण ५० घरपरिवार विस्थापित-Sutra News

पर्वतमा पहिरोका कारण ५० घरपरिवार विस्थापित

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

पर्वतको विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्लाभरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।



बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिराका कारण १८ घरपरिवारलाई मङ्गलबारदेखि नै सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए ।

यसैगरी वडा नं ७ धाइरिङमा दुई घर विस्थापित बनेको गाउँपालिकाले जनाएको छ । यस्तै महाशिला गाउँपालिका–८ घरपरिवार विस्थापित बनेका छन् । गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीका अनुसार त्यहाँ आठ घर विस्थापित भएका छन् ।

उनका अनुसार वडा नं १ होश्राङदीको अर्गाउदीका पहलसिङ गुरुङको परिवार विस्थापित भएको छ । पाँच सदस्य रहेको उक्त परिवारलाई स्थानीयवासी लक्ष्मीदय आधारभूत विद्यालयमा सारिएको छ ।

वडा नं ३ बालाकोटको हिरुखर्कमा तीन सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँचजना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र सोही ठाउँका टेकराम गुरुङको परिवारलाई पनि छिमेकीको घरमा आश्रय दिइएको छ ।

यस्तै वडा नं २ भोक्सिङमा दुई घर, वडा नं ५ लङ्खुका तीन घर र वडा नं ४ पाखापानीका दुई घर गरी कूल आठ घर विस्थापित बनेका हुन् । वर्षा नरोकिएकाले अझै ठूलो क्षति हुनसक्ने उनले बताए ।

यसैगरी फलेवास नगरपालिका–३ शङ्करपोखरीको रुग्दीमा पनि स्थानीयवासी बुद्धिसागर रेग्मीको घर उच्च जोखिममा परेको छ । घरको तल्लो भागबाट घरको भित्तासम्मै पुगेको पहिराका कारण घर बग्ने खतरामा परेको हो ।

वर्षा भएका बेलामा घरमा बस्न नै खतरा भएकाले वर्षाको बेलामा छिमेकीकामा आश्रय दिनुपर्ने अवस्था आएको रेग्मीले बताउनुभयो । वर्षाकै कारण विश्वकै ठूलो शालिग्राम शिला रहेको सेतीवेणी पनि डुबानमा परेको छ । पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा रहेको जिल्लाको बिहादी गाउँपालिका–६ मा रहेको सेतीवेणी बजार डुबानमा पर्दा त्यहाँका १० घर विस्थापित भएका छन् ।

त्यसैगरी कुश्मा नगरपालिका–११ पकुवामा पनि ठूलो भागमा पहिरो गएकाले केही घर जोखिममा रहेको स्थानीयवासी दया सुवेदीले जानकारी दिए ।

मोदी गाउँपालिका–२ देउपुरमा आठ र वडा नं १ भुकताङ्लेमा एक घर जोखिममा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीले जानकारी दिए ।

 वडा नं ४ क्याङको ज्यामिरेमा एक घरमा पूर्ण क्षति पुगेको छ । परिवारलाई छिमेकीकामा आश्रय दिएर सारिएको छ । त्यसैगरी वडा नं ८ चित्रेमा दुई घर विस्थापित बनेका छन् । पहिराका कारण जिल्लाभरका खोलानालामा बाढी आएको छ भने अधिकांश सडक अवरुद्ध बनेका छन् ।

त्यसैगरी खेतीयोग्य जमीनहरु समेत पहिराले पुरिएको स्थानीय तहहरुले जनाएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लाभरि बाढी पहिराले क्षति भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको जनाएको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट