रेडक्रसद्धारा पाँच सय परिवारका लागि राहत भण्डारण-Sutra News

रेडक्रसद्धारा पाँच सय परिवारका लागि राहत भण्डारण

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

झापामा कुनै पनि बेला बाढी आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बललाई तत्काल परिचालित हुनेगरी तयारी अवस्थामा राखिएको छ ।



 नेपाल रेडक्रस सोसाइटीले बाढीबाट प्रभावित हुने कम्तीमा ५०० परिवारलाई पुग्ने राहत सामग्री भण्डारण गरेको छ ।

 जिल्ला विपद् व्यवस्थापन समितिको आग्रह बमोजिम रेडक्रस शाखाले मनसुनी वर्षाका कारण कुनै पनि बेला बाढीको जोखिममा पर्न सक्ने परिवारलाई आवश्यक भाडाकुँडा, बाल्टी, कपडा, त्रिपाल, औषधिलगायत अन्य सामग्रीको भण्डारण गरिसकेको जनाएको छ ।

 रेडक्रस शाखाका सभापति लोकराज ढकालले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०७८ का लागि जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम सो सामग्री तयार गरिएकोे बताए । उनले जिल्लामा विगतदेखि नै बाढी तथा डुबानबाट बढी प्रभावित हुँदै आएका झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र शिवसतासी नगरपालिकामा प्रभावित परिवारका लागि सुरक्षित स्थानको पहिचान समेत गरिसकेको बताए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमार्फत बाढी, पहिरो तथा डुबानबाट प्रभावित व्यक्तिहरुको खोज तथा उद्धारका लागि सबै सुरक्षा निकायलाई तत्काल परिचालित हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको बताएका छन् ।

वर्षात्का कारण राजमार्ग तथा भित्री सडकहरुमा हुनसक्ने अवरोध तत्काल हटाउन डिभिजन सडक कार्यालय दमकलाई विर्तामोड, दमक र काँकरभिट्टामा एक्जाभेटर तयारीमा अवस्थामा राख्न समितिले निर्देशन दिइएको उनले जानकारी दिए ।

बाढी आएका बेला खोलाहरुमा पौडी खेल्न, माछा मार्न र काठदाउरा संकलन गर्न समितिले निषेध गरेको छ । यसका लागि पालिकाहरुलाई गाउँ गाउँमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न समितिले आग्रह गरेको छ ।

 वर्षायाममा जिल्लाको सबैभन्दा ठूलो नदी कनकाईले ८७५ घरधुरीका सात हजार १३५ जनसंख्यालाई बाढीबाट प्रभावित तुल्याउने पूर्वानुमान छ । नदी नियन्त्रणको कार्य नगरिएमा कनकाईको आउँदो बाढीले तीन हजार ५०० बिगाहा जग्गा कटान तथा डुबान गर्ने रेडक्रस झापाले पूर्वानुमान गरेको छ ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले आफ्नो क्षेत्रमा बाढीको समस्या विकराल अवस्थामा रहेको र स्थानीय स्रोत साधनले मात्र नियन्त्रणको प्रयास सम्भव नहुने बताए ।

‘‘बाढीले क्षति पुरयाउने वस्तीहरुको पहिचान भइसकेको छ’,’ गाउँपालिकाका अध्यक्ष साहले भने, ‘‘जनताको तटबन्ध कार्यक्रमसँग सहकार्य गरी यसपाली विगतमा कटान भई वस्तीमा नदी पस्ने स्थानको पहिचान गरी बाँध बाँधेका छौं । विगतका तुलनामा डुबान कम हुने अपेक्षा छ यसपाली ।’’ उहाँले पालिकाले विपद कोषमा रु. ५० लाख बजेट छुट्याएको हुँदा समस्यामा परेमा त्यहीबाट खर्च गरिने बताए ।

उनका अनुसार पालिकाले दुई वर्ष अघि नै डुबानमा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गर्नका लागि रु. आठ लाखको लागतमा रबरको डुङ्गा खरिद गरेको छ भने पर्याप्त मात्र लाइफ ज्याकेट, रबरका ट्यूबहरुको समेत व्यवस्था गरिएको छ । उनले गाउँपालिकाको १, २, ३ र ७ नम्बर वडाका ६६७ घरपरिवार उच्च जोखिममा रहेको जानकारी दिए । मध्य झापाको कनकाई नदीले शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका र झापा गाउँपालिकामा पुर्याउने क्षति सबैभन्दा बढी छ ।

 गत बर्खायाममा कनकाई नदीले ती पालिकाहरुमा २२२ बिगाहा जग्गा कटान गरेको थियो भने २४५ बिगाहा डुबानमा पारेको थियो । सो बर्खामा १६९ घरधुरीका एक हजार २९० जनसंख्या कनकाईको बाढीबाट प्रत्यक्ष प्रभावित भएका थिए । नदीको दुबै किनारमा भरपर्दो तटबन्धन गर्ने हो भने नदीले क्षति पुर्याउन सक्दैन ।

कतिपय ठाउँमा जैविक प्रविधि प्रयोग गरी बाँस, घाँस जस्ता बनस्पति हुर्काएर समेत बाढी नियन्त्रणको प्रयास हुँदै आएको छ । तारजालीमा ढुंगा भरेर गरिने तटबन्धन सबैभन्दा बढी प्रचलनमा रहेको छ । विगतमा तत्काल विपद्का बेला बाढी रोक्नका लागि बाँसको टाँटीले कनकाई, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा समेत कटान रोक्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट