बाढीले डुबायो मेलम्ची खानेपानी आयोजना-Sutra News

बाढीले डुबायो मेलम्ची खानेपानी आयोजना

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका-१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचना डुबानमा परेका छन् । बाढीका कारण अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ ।



त्यहाँका स्थायी संरचना पानीभित्रै भए पनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार हेलिकप्टरबाट खिचेको फोटोमा संरचना नभत्केको पाइएको छ । नदी बढेकाले ‘हेडबक्स’ लगायत संरचना अहिले पानीमुनि छन् ।

आयोजनामा निर्माणस्थलमा कार्यरत केही बेपत्ता भएको र केही घाइते भएको जानकारी आएको प्रवक्ता पन्तले बताए । निर्माण कम्पनीका कति कर्मचारी बेपत्ता भए वा कति घाइते भन्ने यकिन नभएकाले बुझ्न प्रयास भइरहेको आयोजनाले जनाएको छ ।

घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल र काठमाडौँ पुर्‍याइएको छ । अत्यधिक वर्षाका कारण नदीको तह बढे पनि त्यहाँ रहेका संरचनाको बाढी आउनुमा भूमिका नभएको आयोजनाले जनाएको छ ।

कतिपय स्थानीयमा सुरुङ परीक्षण सुरु गरेकै दिनबाट बाढी गएकाले पनि आयोजनाको पानी मेलम्ची नदीमा खसालेको बुझाइ छ । प्रवक्ता पन्तले भने आयोजनाको मेलम्चीपट्टिको ढोका बन्द गरिएको र सुन्दरीजलबाट पानी खाली गरिएको जानकारी दिए । अधिक वर्षाले नदीमा तह बढेकाले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र त्यस आसपासका पालिकामा मानवीय र भौतिक क्षति भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट