काठमाडौं- निरन्तरको वर्षातका कारण बागलुङमा दुई घर भत्किएका छन् भने सात घर परिवार विस्थापित भएका छन् । वर्षापछि जिल्लाका विभिन्न स्थानमा आएको पहिराले दुई घर पूर्णरुपमा क्षति भएको र सात घर पहिराको उच्च जोखिममा परी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ नगरपालिका-७ पैरावारीमा घरमाथिबाट आएको पहिराले एक घर भत्काएको छ भने एक घर उच्च जोखिममा पारेको छ ।
यस्तै नगरपालिका-४ स्थित नन्दलाल पौडेलको घर भत्केको र अन्य दुई घर उच्च जोखिम परेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।
वडा नं १३ फर्सेडाँडा बस्ने पार्वती पौडेलको घरमा पहिरो आई उच्च जोखिममा परेको छ । यस्तै बरेङ गाउँपालिका-१ भ्युडाडा वस्ने विशाल विक र गलकोट नगरपालिका-४ चमुवास्थित चन्द्रकला क्षेत्रीको घरको घर पनि जोखिममा रहेकाले विस्थापित भएका छन् ।