उद्धार र राहतका लागि आवश्यक सामग्री जिल्ला-जिल्ला पुर्याउने परिषद् बैठकको निर्णय-Sutra News

उद्धार र राहतका लागि आवश्यक सामग्री जिल्ला-जिल्ला पुर्याउने परिषद् बैठकको निर्णय

बुधबार, २ असार २०७८

बुधबार, २ असार २०७८

काठमाडौं- पछिल्ला केही दिनमा सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्की, बाजुरालगायतका पहाडी जिल्लामा बाढी र पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएको छ । पानी पर्ने क्रम रोकिएको छैन । यो वर्ष बाढी र पहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आकलन गरिएको छ ।



बुधबार साँझ बालुवाटारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले उद्धार, राहतका लागि आवश्यक पर्ने सामग्री जिल्ला-जिल्ला पुर्याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले तत्काल परोपकारी संस्थासहित संयुक्त समन्वयमा पूर्वतयारी, प्रतिकार्य, उद्धार, खोज र पुनर्स्थापनामा जुट्न निर्देशन दिएका थिए ।

विपद्सँग जुध्न स्रोतसाधनमा कुनै कमी हुन नदिइने भन्दै ओलीले र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन पनि दिए ।

असारको सुरुवातीमै बाढीपहिरोबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि लागत संकलन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट