बझाङ- नेकपा (एमाले) का बझाङ जिल्ला कमिटी सदस्य एवम् खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ ।
खप्तडछान्ना गाउँपालिका-५ माझी गाउँका रोकायालाई दुई हप्ताअघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।
पछिल्लो समय कोरोना रिपोर्ट नेगेटिभ आएको ३ दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौं लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ ।
रोकाया २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत भएका थिए । उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक असल अभिभावक गुमाएको रोकाया आफन्तसमेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए ।
रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।