काठमाडौं- इटाली युरोकप फुटबलको नकआउट चरणमा पुग्न सफल भएको छ । समूह ए अन्तर्गत बुधबार राति भएको खेलमा स्वीट्जरल्याण्डमाथि ३-० को जित निकालेको इटाली नकआउट चरणमा पुग्ने जारी प्रतिस्पर्धामा पहिलो टिम बनेको हो ।
इटालीको जितमा मानुएल लोकातेलीले दुई तथा चिरो इम्मोबिलेले एक गोल गरेका हुन् । लोकातेलीले २६ र ५२ तथा इम्मोबिलेले ८९ औँ मिनेटमा गोल गरेर इटालीलाई महत्वपूर्ण जित दिलाएका हुन् । स्वीट्जरल्याण्डले गोल गर्ने मौका खासै सिर्जना गर्न सकेन ।
लगातार दुई खेलमा जित निकालेको इटालीको ६ अंक भएको छ र उसले नकआउट चरणका लागि स्थान पक्का गरेको छ । समूह ए अन्तर्गत बुधबार राति नै भएको खेलमा वेल्सले महत्वपूर्ण जित दर्ता गरेको छ । उसले टर्कीमाथि २-० को जित दर्ता गरेको हो । वेल्सको जितमा आरोन रामसी र कनर रोबर्ट्सले एक-एक गोल गरे ।
४२ औँ मिनेटमा ग्यारेथ बेलको सहयोगमा रामसीले गोल गरेका हुन् । रोबर्ट्सले इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोल गरेका हुन् । एक खेलमा बराबरी र एकमा जित दर्ता गरेको वेल्स चार अंकसहित दोस्रो स्थानमा छ । टर्की अंक बिहीन छ भने स्वीट्जरल्याण्डको एक अंक छ ।