काठमाडौं- केही दिनदेखि देशभर वर्षा जारी छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ७ बजे जानकारी दिएअनुसार अहिले पनि प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।
यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षासमेत हुने सम्भावना छ ।
यस्तै राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ भने सुदूरपश्चिम, बागमती र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
अझै केही दिन वर्षा जारी रहने भएकाले बाढी, पहिरो, डुबानको जोखिम रहेका स्थानका बासिन्दालाई सजगता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यस वर्ष मनसुन निकै शक्तिशाली भएकाले भित्रिनासाथ देशभर व्यापक वर्षा भइरहेको छ भने बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा ठूलो जनधन क्षतिसमेत गराइसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ,‘ देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही भूभागमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेकाले उक्त प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’ महाशाखाकाअनुसार शुक्रबार र शनिबार पनि वर्षाको सम्भावना छ ।
हेर्नुहोस् तीन दिनको मौसमपूर्वानुमान
असार ४ गते शुक्रबार
दिउँसो: देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ । राति: देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असार ५ गते शनिबार
दिउँसो: देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
राति: देशका धेरे स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ ।
असार ०३,
आज कोशी,नारायणी,कर्णाली,महाकाली,पश्चिम राप्ती,तिनाउ,बबई जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले साना नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाऔ। pic.twitter.com/EKxmVOPYM8— Nepal Flood Alert! नेपाल बाढी सूचना! (@DHM_FloodEWS) June 17, 2021