सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती, सचेत रहन आग्रह-Sutra News

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती, सचेत रहन आग्रह

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । 



स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।

भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दीलगायतका बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको स्थानीयवासी रमेश अधिकारीले बताए ।

विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–६ का सुरेश बस्नेतले बताए । 

उनका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा उनको छोरो दुई÷तीन दिनदेखि बिरामी परेको छ । नौ वर्षीय छोरो श्रीजलले झाडापखाला तथा बान्ता गरेको उनले बताए ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा प्रगति राना मगरले बताए । 

कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुने लगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा रानाले सुझाव दिए। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट