काठमाडौँ । संसद विघटनविरुद्ध परेको रिटमा गएको जेठ २६ गते संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएका छन् ।
जवाफमा उनले प्रतिनिधिसभाको पुनस्र्थापना भए मुलुक थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा फस्ने बताएका छन् ।
‘प्रतिनिधिसभा धारा ७६ को उपधारा (५) बमोजिम वैकल्पिक सरकार बनाउन पनि असफल भयो र यसको विघटन अनिवार्य संवैधानिक परिघटना हुनपुग्यो,’ उनले भनेका छन्, ‘अब पनि प्रतिनिधिसभाको पुनस्र्थापनाको कुरा गर्नु मुलुकलाई थप अन्योल‚ अस्थिरता र राजनीतिक अराजकतामा धकेल्नु हो ।’
त्यस्तै उनले नेपालको इतिहासमा पुनस्र्थापना भएका कुनै पनि प्रतिनिधिसभाले राजनीतिक परिणाम हासिल गर्न नसकेक बताएका छन् ।