सय शय्याको विशेष अस्पताल निर्माण गर्ने काठमाडौँ महानगरको तयारी-Sutra News

सय शय्याको विशेष अस्पताल निर्माण गर्ने काठमाडौँ महानगरको तयारी

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ ।



महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८÷७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरेका छन् ।

 प्रमुख शाक्यले आज नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्योपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ ।

कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट