‘बादललाई निकाल्नुस्’ भन्दै प्रचण्ड दिल्ली गएपछि बिग्रिएको रहेछ कुरो-Sutra News

‘बादललाई निकाल्नुस्’ भन्दै प्रचण्ड दिल्ली गएपछि बिग्रिएको रहेछ कुरो

बिहिबार, ३ असार २०७८

बिहिबार, ३ असार २०७८

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एउटा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७५ साल भदौको २१ देखि २४ सम्म भारतको भ्रमण गरे ।



भ्रमणमा जानुअघि अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निकालेर अर्को गृहमन्त्री नियुक्त गर्न आग्रह गरे ।

स्रोतको दाबीअनुसार प्रचण्डले ओलीसँग भनेका थिए – ‘म दिल्ली जाँदै छु । यहीबेला केही मन्त्री हेरफेर गर्नुस्, त्यसक्रममा बादललाई हटाउनुस । म आएपछि ए म दिल्ली जाँदा केके पो भएछ, मलाई थाहा थिएन भनिदिन्छु ।’

त्यतिबेला प्रचण्डले गृहमन्त्रालयबाट बादललाई हटाएर जनार्दन शर्मालाई राख्न चाहेका थिए । राजनीतिका चतुर खेलाडी मानिएका ओलीले प्रचण्डको आग्रहलाई ‘हुन्छ, म हेरौंला’ भनेर टारिदिए । त्यसपछि प्रचण्ड दिल्ली हानिए ।

इण्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्सको निमन्त्रणामा प्रचण्ड एक्लै दिल्ली पुगेका थिए । प्रचण्डसँग नेकपाका कुनै नेता गएनन् । प्रचण्डले दिल्लीमा राष्ट्रप्रमुखले पाउने खातिरदारी पाएका थिए । उनले भेटको शुरुवात मोदीका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबाट गरे ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, तत्कालीन गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, विपक्षी दलका नेताहरू र पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका थिए ।

दिल्लीमा प्रचण्डले हिन्दूस्तान टाइम्स र द प्रिन्टलाई अन्तर्वार्ता दिए । द प्रिन्टसँगको अन्तर्वार्तामा प्रचण्डले आफूलाई भविष्यको प्रधानमन्त्री रहेको आशयका साथ खुलेर कुरा गरेका थिए ।

‘केही सहमति नभएको भए पार्टी एक किन हुन्थ्यो र ?’ अन्तर्वार्ताका क्रममा प्रचण्डले भनेका थिए । त्यसपछि द प्रिन्टकी पत्रकारले सोधिन – ‘त्यसो भए म भोलिको प्रधानमन्त्रीसँग कुरा गर्दै छु ?’

जवाफमा प्रचण्डले भनेका थिए – ‘तपाईंले त्यस्तो सोच्न सक्नुहुन्छ, तर यो कुनै मुद्दा होइन ।’

दिल्लीमा प्रचण्डलाई दिइएको सम्मान र प्रचण्डसँग लिइएको अन्तर्वार्ता देखेपछि बालुवाटारमा बेचैनी छायो । त्यसको केही महिनाअघि मात्र दिल्ली भ्रमण गरेका ओलीलाई लाग्यो – ‘दिल्लीले प्रचण्डलाई मलाई भन्दा बढी महत्त्व दियो ।’

अनि कुरा बिग्रिन थाल्यो ।

प्रचण्ड दिल्लीबाट फर्किसकेपछि ओलीले बादललाई बोलाएर भने – ‘प्रचण्डले त तपाईंलाई हटाउन खोज्नुभएको थियो । तपाईंहरूको सम्बन्ध किन बिग्रियो, मैले त उहाँकै सिफारिसमा तपाईंलाई गृहमन्त्री बनाएको थिएँ ।’

प्रचण्डले आफूलाई हटाउन ओलीलाई आग्रह गरेको कुराले बादल अवाक् बने । बादलले त्यसपछि क्रमैसँग प्रचण्डले विगतमा आफूमाथि गरेका अन्याय सम्झिन थाले ।

‘खासै त्यस्तो त केही थिएन, किन मलाई हटाउन खोज्नुभएको रहेछ ? म कुरा गर्छु,’ बादलले भने ।

त्यसपछि ओलीले भने – ‘अहिलेलाई म केही निर्णय लिन्न । तपाईं यथावत हुनुहुन्छ, ढुक्क हुनुहोस् ।’ यता बादल र उता वामदेव गौतमलाई साथ लिएर सचिवालयमा बहुमत पुर्याउने ओलीको कदम त्यहींबाट शुरू भयो ।

ओलीको भनाइबाट बादल आश्वस्त भएर मन्त्रीक्वार्टर फर्के । त्यसपछि बादलको मनमा पुराना कुराहरू खेल्न थाले ।

जनयुद्धकै समयमा पनि आफूमाथि प्रचण्डले कारवाही गरेकोदेखि लिएर तत्कालीन माओवादी पार्टी फुट्दासम्मका घटनाक्रम सम्झेपछि बादल प्रचण्डप्रति झन् कठोर हुनुपर्ने निष्कर्षमा पुगे । बादल बिस्तारै ओलीसँग नजिक हुँदै गए ।

बादल २०७४ सालको फागुनमा गृहमन्त्री भएपछि आम जनताले धेरै अपेक्षा गरेका थिए । तर बादलले अपेक्षाकृत ढंगले काम गर्न सकेनन् ।

बादलनिकट स्रोत भन्छ – ‘बादलले काम गरेका हुन्, तर गृहमन्त्री बन्न नपाएपछि जनार्दन शर्माको समूह बादलमाथि जाइलाग्यो । काम नै नगरेको भन्दै प्रचारमा उत्रियो । त्यतिमात्र होइन, बादलसँग ठेकेदारहरू रिसाए । ठेकेदारका नाइके थिए प्रचण्डका घरबेटी । तिनलाई कारवाही नगर्न प्रचण्डको उर्दी आएको थियो ।’

स्रोतका अनुसार ठेकेदारलाई जसरी पनि कारवाही गर्नुपर्छ भनेर बादलले अड्डी लिएपछि प्रचण्डले ‘मैले बनाएको गृहमन्त्री मैसँग ठूलो हुने’ भन्दै मुर्मुरिएका थिए र।

त्यतिमात्र नभएर यातायात सिण्डिकेटधारीहरूलाई कारवाही गर्न तत्कालीन यातायातमन्त्री रघुवीर महासेठले रोके । निर्मला हत्याकाण्डमा यो या त्यो रूपबाट बादललाई नै बदनाम गर्ने कोशिस गरियो ।

बादलले आफूमाथि अवरोध गर्नेहरू सबैलाई प्रचण्ड र जनार्दनको कार्यकर्ता देख्न शुरू गरे । त्यसपछि उनले ओलीलाई नै साथ दिने मनस्थिति बनाएका थिए ।

गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा राजनीतिक ढंगले विभाजित भयो । बादलले अन्तिमसम्म पनि आफ्नो साथ दिने अपेक्षा गरेका प्रचण्ड तब निराश भए, जब बादल बालुवाटारमा बसिरहेको केन्द्रीय कमिटीको बैठकमा पुगे र क्रान्तिकारी भाषण गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट