हत्या आरोपमा चार युवक पुर्पक्षका लागि थुनामा-Sutra News

हत्या आरोपमा चार युवक पुर्पक्षका लागि थुनामा

शुक्रबार, ४ असार २०७८

शुक्रबार, ४ असार २०७८

सप्तरी- जिल्ला अदालत सप्तरीले कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार युवकलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । हत्याको अभियोग लागेका चारै जनालाई थुनामा राखी अनुसन्धान अघि बढाउन जिल्ला अदालतले आदेश गरेको हो ।



अदालतको आदेशमा सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ३० वर्षीय बिनय यादव, सोही उमेरका मनोजकुमार यादव, २४ वर्षीय मुकेशकुमार यादव र खडक नगरपालिका-५ का ३१ वर्षीय महेशकुमार पासवानलाई थुनामा पठाएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि रुपनी गाउँपालिका–१ रायपुरका ५० वर्षीय रामदल यादवलाई भुईमा लडाई लछार पछार गरी धारिलो हतियार खुकरीले टाउकोमा प्रहार गरी हत्या गरेको आरोप छ ।

रुपनीवाट राजविराजतर्फ जाने सडक किनारमा टाउकोमा धारिलो हतियारले काटेर रक्ताम्य अवस्थामा जेठ ६ गते फेला परेका घाइते रामदलको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा जेठ १० गते मृत्यु भएको थियो ।

प्रहरीले अरोपितहरुलाई जेठ ६ गते नै पक्राउ गरेकोमा रामदलको मृत्युपश्चात कर्तव्य ज्यान मुद्दामा कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट