काठमाडौं- इंग्ल्याण्ड र स्कटल्याण्डले युरोकप २०२० मा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूह डी अन्तर्गत शुक्रबार राति लण्डनस्थित घरेलु मैदान वेम्वली स्टेडियममा भएको खेलमा इंग्ल्यान्ड स्कटल्याण्डसँग बराबरीमै रोकियो ।
खेलमा दुवै टोलीले केही गोलका अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीपछि इंग्ल्याण्डको लगातार ७ खेलको जित यात्रामा ब्रेक लागेको छ । सन् १९९६ पछि पहिलो पटक युरोकप खेलिरहेको स्कटल्याण्डले यस संस्करणमा पहिलो अंक जोडेको छ ।
२५ वर्षअघि वेम्वलीमै भएको खेल इंग्ल्याण्डले २-० ले जितेको थियो । बराबरीपछि समूह डी मा अपराजित इंग्ल्याण्डले २ खेलबाट ४ अंक जोडेको छ । चेक रिपब्लिक समान ४ अंक भए पनि इंग्ल्याण्ड गोलअन्तरमा पछि हरँदै दोस्रोमा छ ।
अब समूह्यको अन्तिम खेलमा इंग्ल्याण्डले चेक रिपब्लिकसँग खेल्नेछ । उक्त खेल जितेमा इंग्ल्याण्ड समूह विजेताको रुपमा अन्तिम १६ मा पुग्नेछ । बराबरी खेले पनि इंग्ल्याण्ड र चेक रिपब्लिक दुवै अन्तिम १६ मा पुग्नेछ ।
पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १-० ले हराएको थियो । उता पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको स्कटल्याण्डले २ खेलबाट १ अंक जोडेको छ ।