काठमाडौं- नेपाली कांग्रेस सुर्खेतका नेता एवम् पूर्व मन्त्री तप्तबहादुर विष्टको मृत्यु भएको छ । नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति समेत रहेका विष्टलाई एक महिना अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भई प्रदेश अस्पतालमा भर्ना गरिएको थियो । प्रदेश अस्पतालमा सुर्खेतमा स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ११ कुइनेमा घर भएका ६० वर्षीय विष्ट नेपाल सरकारको पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री, पूर्वसंविधानसभा सदस्य, पूर्वजिल्ला विकास समितिका उपसभापति समेत हुन् । विष्ट नेपाली कांग्रेस पार्टीमा स्वच्छ छविका नेताका रुपमा चिनिदैँ आएका थिए ।
उनको मृत्युले नेपाली कांग्रेस पार्टीमा अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति कमलराज रेग्मीको भनाई छ ।
पूर्वराज्यमन्त्री एवं सुर्खेत कांग्रेसका पूर्वसभापति तप्तबहादुर विष्टको निधनको खवरले निकै दुखी भएको छु। तप्तजी एक निष्ठावान नेता हुनुहुन्थ्यो । उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। pic.twitter.com/5wR5ZOXwqU
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 20, 2021