१४ औं महाधिवेशनः कांग्रेसकाे चुनावी चहलपहल सुरु-Sutra News

१४ औं महाधिवेशनः कांग्रेसकाे चुनावी चहलपहल सुरु

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औंं महाधिवेशनका लागि वडा तहबाट सुरु हुने अधिवेशनको चहलपहल सुरु भएको छ । चितवनका नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न सुरु गरेका छन् । जिल्ला सभापतिमा मात्रै हालसम्म आठ जनाले उम्मेदवार हुने जनाएका छन् । यो सङ्ख्या घटबढ हुनसक्ने बताइएको छ ।



कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफ्नो उम्मेदवारी केन्द्रीय सदस्यमा हुने जनाएपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशी सभापतिको दौडमा छन् । पूर्वसांसद एवं तत्कालीन भरतपुर नगरपालिकाका उपप्रमुख वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेल, नेपाल विद्यार्थी सङ्घका जिल्ला पूर्वअध्यक्ष एवं कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा.सूर्यकान्त घिमिरे तथा प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिको उम्मेदवारी दिने बताएका छन् ।

चितवन क्षेत्र नं १ का महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ का राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषाल सभापतिको चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये कतिपयले १३औँ महाधिवेशनपछि जिल्ला सभापतिमा चुनाव लड्ने भन्दै तयारी गर्दै आएका छन् । 

जिल्ला सभापति श्रेष्ठ वडादेखि केन्द्रसम्म उम्मेदवार हुनेहरुले आफ्नो चुनावी प्रचार थालिसकेको बताउँछन् । चुनाव हुन्छ या हुँदैन भन्ने दोधारका बीच मिति तय भएपछि कोभिडको अवस्थामा पनि उम्मेदवारहरु आफ्नो पक्षमा मत तान्न लागिपरेका छन् । जिल्लामा २७ हजार ८५५ क्रियाशील सदस्य रहेका छन् । तीमध्ये १० हजार ८०७ जना नयाँ हुन् । आजसम्म पुरानाको नवीकरण हुने भएकाले ३०/४० जना थप हुने अनुमान छ ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १५ हजार ६५८ क्रियाशील सदस्य रहेका छन् । दोस्रो धेरै रत्ननगर नगरपालिकामा चार हजार ४०१, खैरहनीमा तीन हजार सात, राप्तीमा एक हजार ३४५, कालिकामा एक हजार ६७८, माडीमा ९०६ र इच्छाकामना गाउँपालिकामा ८६० जना क्रियाशील सदस्य छन् । यसअघि सम्पन्न अधिवेशनमा १९ हजार ६०० क्रियाशील सदस्य रहेकामा १७ हजार १०० को नवीकरण भएको कांग्रेस चितवनले जनाएको छ ।

नेपाली कांग्रेसको आगामी साउन १२ गते वडा तहमा अधिवेशन हुँदैछ । वडा समिति र क्षेत्रीय प्रतिनिधि वडाबाट चयन हुनेछन् । साउन १६ गते हुने पालिका अधिवेशनबाट पालिका कार्यसमिति र अपाङ्गहरुको क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । साउन २० गते क्षेत्रको प्रदेश समितिको अधिवेशनले प्रदेश कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । साउन २३ गते हुने क्षेत्रको अधिवेशनले क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन गर्दैछ । साउन २६ गते हुने जिल्ला अधिवेशनले जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट