काठमाडौं- कोपा अमेरिकामा पेरुले सोमबार कोलम्बियालाई २-१ ले हराएकाे छ । समूह ‘बी’ मा रहेको पेरुको यो पहिलो जित हो । यरी मिनाले ६४ औं मिनेटमा आत्मघाती गोल गरेपछि पेरुको जित सम्भव भएको हो ।
यसअघि पेरुले सर्जियो पेनाले १७ औं मिनेटमा गरेको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा मिगुएल बोर्जाले कोलम्बियाका लागि बराबरी गोल फर्काएका थिए ।
अर्को खेलमा भेनेजुएला र इक्वेडरले २-२ को बराबरी खेले । भेनेजुएलाका लागि रोनाल्डो हर्नान्डेजले दोस्रो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्काएका हुन् ।
ब्राजिल सम्मिलित यस समूहमा उसको दुई खेलबाट ६ अंक छ । त्यसपछि कोलम्बिया ४ अंकमा दोस्रो स्थानमा छ भने पेरु ३ अंकसहित तेस्रो स्थानमा रहेको छ । भेनेजुएलाको २ र इक्वडेरको १ अंक रहेको छ ।