बाढी आएको ७ दिनसम्म सरकार खोज्दै हेलम्बुबासी, काठमाडौँबाट टर्च लाइट पठाइयो-Sutra News

बाढी आएको ७ दिनसम्म सरकार खोज्दै हेलम्बुबासी, काठमाडौँबाट टर्च लाइट पठाइयो

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

मेलम्ची बाढीले सबैभन्दा बढी क्षति पुर्याएको हेलम्बु गाउँपालिका वडा नम्बर २ की भुपेन्द्रकुमारी भण्डारी हेलिकप्टरले केही राहत ल्याउँछ कि भन्दै बाढीले बगाएको ईलाका प्रहरी कार्यालय अगाडिको खालि ठाउँमा झोक्राएर बसिरहेकी थिइन् । त्यही बेला सिम्रिक एयरको हेलिकप्टर उडेर त्यहीं नजिकै बस्न आइपुग्यो ।



हेलिकप्टरले सोलारबाट चल्ने र फोन चार्ज गर्न मिल्ने लाइट ल्याएको रहेछ । पहिला त घरको छतमाथि राख्ने सोलार प्यानल नै आयो भनेर सबैले सोचिरहेका थिए । तर हातमा झुन्ड्याउन मिल्ने टर्च लाइट मात्र आयो ।

त्यही लाइट पनि निजी संस्थाले वितरण गरेको हो ।

सोलार लाइट त्यहींबाट वितरण हुन शुरू गर्यो । एउटा सोलार लाइट भण्डारीको हातमा पनि पर्यो । तर उनी खुसी हुन सकिरहेकी थिइनन् ।

उनले भक्कानिँदै सूत्रन्यूजका समाचार प्रतिनिधिसँग भनिन् – ‘जे चाहिएको छ, त्यो आउँदैन, जे चाहिएको छैन, त्यही मात्र राहत आइरहेको छ ।’

बाढीबाट ज्यान गुमाउनेमध्येको पारिवारिक सदस्य हुन् उनी । त्यतिमात्र नभएर उनले उब्जनी गरेर खाने जग्गासमेत गुमाइन् । आसार १ र ३ गते आएको बाढीले उनले कुटो कोदालो गरेर खाने पुर्ख्यौली र पछि जोडेको घर र जग्गा बगरमा परिणत गरिदियो । उनले आफ्नो घरको अवशेषसमेत देख्न पाइनन् ।

भण्डारीले रुँदै भनिन् – ‘आजसम्म सरकारको केही खाइदिएका छैनौं हामीले । आफ्नो जायजेथा खनजोत गरेर खाइयो । अब भने हामीलाई साँच्चैको सरकार चाहिएको छ । चामल बरू यताउती गर्छौं, त्यसलाई पकाएर खाने ग्यास चाहियो । सबैभन्दा पहिला त बास चाहियो ।’

२०७२ सालको महाभूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै पारेको थियो । त्यसबेला लेकमा भएको घर छोडेर धेरैजसो हेलम्बुबासीले बेसीमा रहेको पुर्ख्यौली जग्गा र पछि जोडेको जग्गामा घर बनाएर बसेका थिए ।

भूकम्पले बेसी झारेको हेलम्बुबासीलाई बाढीले फेरि माथि लेकतिरै फर्काइदिएको छ ।

हेलम्बु-२ निवासी गोकुल भण्डारीको व्यथा त्यही छ । बाढीबाट उनले आफ्नो ३१ वर्षको भाइ गुमाएका छन् । आफ्नै पौरखमा बाँचेको उनको परिवार अहिले घर न घाटको भएको छ ।

‘बाढीले भाइलाई लग्यो । खाउँखाउँ लाउँ लाउँ उमेरमा उसलाई त लग्यो लग्यो, घरखेत सबै बगायो,’ उनले भक्कानिंदै भने, ‘राहत त आउँछ तर यहाँ राहतमा पनि राजनीति भएको छ । हामीले अहिलेसम्म केही पाएका छैनौं ।’

गत आसार १ गते आएको बाढीले हेलम्बु वरिपरी ठूलो क्षति गरेको छ । मेलम्ची खोलाको नियमित सतहभन्दा २० मिटर माथि रहेको झोलुंगे पूलको समेत अस्तित्व रहेन । अर्बौंको भौतिक संरचना र दर्जनौंको ज्यान जाने गरी बाढी आएको ७ दिन बितिसक्दा पनि हेलम्बुबासीले सरकारको उपस्थिति देख्न सकेका छैनन् ।

यदाकदा गैरसरकारी संस्था र राजनीतिक पार्टीको तर्फबाट आउने राहतमा ठूलाबडाको हालीमुहाली भएको अधिकांश पीडितको आरोप छ । उनीहरूले सरकार खोजिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट