

आसार १ र ३ गते मेलम्ची नदीमा गएको बाढीले ठूलो क्षति पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बासिन्दाले आइतवार मन्त्री शेरबहादुर तामाङको दर्शन पाउने भएका छन् ।
सूत्र न्यूजसँग कुरा गर्दै इलाका प्रहरी कार्यालय हेलम्बुका सहायक प्रहरी निरीक्षक एसके थापाले मन्त्री तामाङ हेलम्बु जाँदै गरेको पुष्टि गरे ।
‘मन्त्रीज्यू गाडीबाट आउँदै हुनुहुन्छ,’ सई थापाले सूत्रन्यूजसँग भने, ‘मेलम्ची, तालमाराङ, ग्यालभूम, शेरा, चनौटे, चुरेटार, गणेशेबगर, ढोडेनी हुँदै क्यूलबजारबाट हेलम्बुसम्म आउने कार्यक्रम छ ।’
यसअघि मन्त्री तामाङले आसार २ गते हेलिकप्टरबाट सिन्धुपाल्चोकबासीलाई हेरेर बिदा भएका थिए ।
स्वास्थ्यमन्त्री तामाङ गत आमनिर्वाचनमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित भएका थिए ।
बाढीले धनजनको क्षति पुर्याउँदा पनि जनप्रतिनिधिहरूले सोधीखोजी नगरेको भन्दै हेलम्बुबासी आक्रोशित छन् ।