असार १ गते आएको बाढीसँग २ मिनेट लडेर आफ्नो ज्यान जोगाउन सफल सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का काशिनाथ भण्डारी आफू बाचेकोमा खुसी हुनुभन्दा पनि बाढीले गरेको क्षतिलाई देखेर दुखी बनेका छन् ।
आसार १ गते अचानक आएको बाढी काशिनाथसँग हार्यो तर अन्य धेरैको मृत्युको कारण बन्यो । अर्बौंको क्षति निम्त्यायो । काशिनाथसँगै ट्राउट फारममा रहेका अन्य २ जना गणेश ज्योति र गणेश भण्डारी भने बाढीको चपेटामा परे । अहिलेसम्म बेपत्ता उनीहरू फर्केर आउने आशा उनीहरूको परिवारले मारिसकेको छ ।
बाढीसँग काशिनाथाको संघर्ष उनकै शब्दमा :
हामीले दिउँसो प्ले-ग्राउण्ड बनाउका लागि जालीको काम गरेका थियौं । साँझ हामी गणेश ज्योतिको ट्राउट फारममा केही काम परेर सहयोगका लैग गएका थियौं । जब खेतको बीचमा पुग्यौं, वारीपट्टीबाट ठूलो स्वरमा भाग..भाग भन्ने आवाज आयो ।
त्यसपछि म माथिको खेततिर भागें । म भाग्दाभाग्दै ठूलो बाढी आइसकेको थियो । म स्पीडमा भागिरहेको थिएँ तर आधा बाटो पुगेपछि मलाई समातिहाल्यो ।
२ मिनेटजति मलाई घिसारेर लग्यो बाढीले । अलि तल आएपछि ठाडोपूलमा ठोक्किन पुगें । म धन्न होशमै रहेछु । पूलनेर पुगेपछि पानी ठोकियो, मेरो टाउको माथि आयो । हतपत्त मैले केही समातेर माथि चढ्न सफल भएँ ।
त्यसपछि अलि माथि आएर एकछिनसम्म फर्केर हेरें । मा माथि निस्केको ठाउँलाई उत्तिखेरै बगाएर लग्यो । केही समयमा प्रहरी प्रशासन आयो र मेरो उद्दार भयो । मैले पानीमा हुँदा मुख पुरै थुनेको थिएँ तर बालुवा नाकबाट पसेको रहेछ । एक किलोजति बालुवा मेरो पेटबाट निकालिएको थियो ।
बाढी आउँदा हामी तीनजना सँगै थियौं । म चाहिँ छिटो छिटो माथि खेततिर भागें भने बाँकी दुईजना तेर्सो भागे । त्यही भएर उनीहरूलाई पहिला लगिहाल्यो । म बाँचेकोमा भन्दा पनि सँगै भएकालाई बगाएर लगेकोमा दुखी छु ।
भिडियो –