बाढीले कान्छो छोरा गुमाएका बाबुराम भन्छन् – छोरो त गयो गयो, कमाएर खाने ठाउँ पनि रहेन [भिडियो]-Sutra News

बाढीले कान्छो छोरा गुमाएका बाबुराम भन्छन् – छोरो त गयो गयो, कमाएर खाने ठाउँ पनि रहेन [भिडियो]

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

सिन्धुपाल्चोक हेलम्बु-२ का बाबुराम भण्डारी मेलम्ची खोलामा आएको बाढीले कान्छो छोरो बगाएपछि छिनछिनमा आँशु झारिरहन्छन् । बाढीले उनको छोरा मात्र लगेन, उनको घरबास र खेतीपाती गर्ने जमिन पनि सँगै लग्यो ।



गत आसार १ गते मेलम्ची खोलामा आएको बाढीले उनको ३१ वर्षका छोरा माधवलाई सधैंका लागि चुँडाएर लग्यो । माधवकी श्रीमती शोकमा छन् भने ४ वर्षीय छोरा टुहुरो बनेका छन् ।

आफ्नै जग्गा जमिनमा पौरख गरेर खाइरहेको त्यो परिवारमा अचानक परेको बज्रपातले निम्त्याको शोक नाप्ने कुनै उपकरण बनेको छैन । कान्छो छोरो गुमाएको पीरमा बाबुराम बेलाबेलामा भक्कानिन्छन् । उनलाई सबैभन्दा ठूलो पीर बुहारी र नातिको छ ।

यो पनि – बाढी आएको ७ दिनसम्म सरकार खोज्दै हेलम्बुबासी, काठमाडौँबाट टर्च लाइट पठाइयो बाढी आएको ७ दिनसम्म सरकार खोज्दै हेलम्बुबासी, काठमाडौँबाट टर्च लाइट पठाइयो

बाबुराम भण्डारीका दुई छोरा छन् । जेठा छोरा गोकुलले खेतीपाती र सामान्य व्यवसाय गर्थे । अहिले न खेतीपातीका लागि एक इन्च जमिन छ, न त ओत्ने ठाउँ नै छ ।

बाबुरामको परिवारले यतिबेला हेलम्बु गाउँपालिका नजिकै रहेको मन्दिरमा शरण लिइरहेको छ । उनको घर कटानमा छ यतिबेला । घर कतिबेला खोलामा मिसिने हो थाहा छैन ।

बाबुरामको पीडा उनकै शब्दमा :

मेरो घर यहीं हो । सबै खेत भएको जग्गा थियो । माछा पोखरी थियो । आसार १ गते दिउँसो अलिअलि धमिलो आइरहेको थियो । मेरो गोठ पनि त्यहीं थियो । माछा पोखरी पनि त्यहीं थियो । दिउँसो अलिअलि आएको धमिलो पानीबाट माछा जोगाउन सकिन्छ कि भनेर अरू पानी काटेर हालिरहेको थियौं ।

माछा पोखरीलाई के गर्ने भनेर गफ गर्दै बाउछोरा बसिरहेका थियौं । अनि ‘बुबा अब पानी पर्छ गणेश दाइलाई सहयोग गर्छु भनेर’ निस्क्यो । उ त्यहाँ पुग्न पाएको थिएन, एकै चोटी बाढी आएर छोरालाई लिएर गयो ।

मेरो कमाउने र खाने ठाउँ केही छैन अब । दुईवटा नाती छन्, एउटा नातिनी छ । बाढीले बगाएको कान्छो छोरोको ४ वर्षको छोरा छ । तर गासबास अब केही पनि छैन ।

मेरा दुईवटा छोरा छन् । उ कान्छी बुहारी त्यहीं छ । माछा पोखरीमा धमिलो पानी आयो, त्यसलाई काट्न गएको हो । त्यसपछि छोरो फर्केर आएन ।

भिडियो –

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट