काठमाडौं- नेपाल प्रहरीका १६ जना डीआईजीको सरुवा भएको छ ।
गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट डीआईजीको सरुवा गरेको हो । सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको जिम्मेवारी डीआईजी धिरजप्रताप सिंहले पाएका छन् । यसअघि उनी प्रदेश २ प्रहरी कार्यालयको नेतृत्व गरिरहेका थिए ।
हाल सीआईबीमा रहेका डीआईजी सहकुल थापाको प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय निर्देशनालयमा सरुवा भएको छ ।
गृहले सातवटै प्रदेशका प्रहरी प्रमुख पनि परिवर्तन गरेको छ ।
प्रदेश १ मा अरुणकुमार वीसी, प्रदेश २ मा उमेश रञ्जितकार, बागमतीमा प्रकाशजंग कार्की, गण्डकीमा दिवेश लोहनी र लुम्बिनीमा मुकुन्द आचार्य पठाइएका छन् । कर्णालीमा गणेशबहादुर ऐर र सुदूरपश्चिममा पुरुषोत्तम कँडेल पठाइएका छन् ।