श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइयाे-Sutra News

श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइयाे

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

कोलम्बो- श्रीलङ्कामा देशभरी लगाइएको यात्रा प्रतिवन्धको व्यवस्था तीन दिनका लागि हटाइएको छ । सरकारी अधिकारीहरुले अस्थायी रुपमा यात्रा प्रतिवन्धको व्यवस्था हटाइएको सोमबार जानकारी दिएका हुन । देशव्यापी यात्रा प्रतिवन्ध फुकुवा भएसँगै श्रीलङ्का भित्र यात्रा गर्न खुल्ला भएको छ । श्रीलङ्कामा गत मेदेखि देशभित्र यात्रा गर्न प्रतिवन्ध लगाइएको थियो ।



कोरोना भाइरस महामारी नियन्त्रण तथा व्यवस्थापन केन्द्रका प्रमुख तथा देशका प्रधानसेनापति शभेन्द्र सिल्भाले सिन्ह्वालाई दिएको जानकारी अनुसार सोमबारदेखि लागुहुने गरी तीन दिनका लागि यात्रा गर्न पाइने भएको हो । आफ्नो घरमा जान नपाएका वा अति महत्वपूर्ण कामका लागि आवत जावत गर्नुपर्ने बाध्यतामा रहेकाहरुलाई ध्यान दिएर तीन दिनका लागि खुल्ला गरिएको उनले स्पष्ट पारे ।

अत्यावश्यक कामका लागि हिड्नु पर्दा एउटा परिवारको दुई जना मात्रै हिड्न पाइने व्यवस्था गरिएको पनि प्रधानसेनापति सिल्भाले जानकारी दिए । त्यसैगरी सरकार नियन्त्रीत कार्यालय तथा कम्पनीहरुलाई पनि सिमित व्यक्तिलाई मात्रै हिड्न पाइने व्यवस्था गरिएको उनको भनाइ छ ।

श्रीलङ्कामा कोरोना भाइरसबाट सङ्क्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या अझै पनि बढी रहेकाले पुरै खुल्ला गर्ने अवस्था नरहेको सरोकारवालाहरुको निश्कर्ष छ । अहिले हटाइएको यात्रा प्रतिवन्धात्मक व्यवस्था आगामी बुधबार रातीदेखि भने फेरि लागु हुने सरकारले निर्णय गरेको छ ।

श्रीलङ्काको स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार सुपरमार्केटहरुमा बढीमा २५ जना मात्रै जान पाउने र साना पसलहरुमा बढीमा ३ जना मात्रै जान पाउने व्यवस्था गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट