घर-घरको मठमा राखियो तुलसीको दल-Sutra News

घर-घरको मठमा राखियो तुलसीको दल

सोमबार, ७ असार २०७८

सोमबार, ७ असार २०७८

काठमाडौं- वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ ।



यसलाई तुलसीको दल राख्ने पनि भनिन्छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा दल राखेर तुलसीको बीउ रोप्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन सारिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मासका नाममा तुलसीरुपी भगवान् विष्णुको विशेष आराधना गरिन्छ ।

आजका दिन स्नान, तुलसीको पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशी समेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमले जानकारी दिए । 

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्नसमेत तुलसी उपयोगी हुने आयुर्वेद चिकित्सक डा‍.शेषराज आचार्य बताउँछन् । कोरोनाले अक्सिजन अपुग भएर लिनुपर्ने अवस्थामा लैजाने गरेकाले घर घरमा रोप्दा मानिसलाई फाइदा गर्ने भएकैले वैदिक संस्कृति अनुसार तुलसी पूजा गर्ने परम्परा शुरु भएको उनले बताए ।

तुलसी चियाका रुपमा समेत सेवन गरिन्छ । तुलसीपत्तालगायत जडिबुटी पकाएर खाँदा रुघा, खोकी, घाँटी दुख्ने समस्यामा फाइदा गर्छ । प्रत्येक खाद्य सामग्रीमा एक पत्तामात्र तुलसी पत्ता राखेमा कीटाणुमुक्त गर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट