काठमाडौं- युरोकप फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा डेनमार्कले शानदार जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा रुसलाई ४–१ ले पराजित गर्दै डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
डेनमार्कका लागि ३८ औँ मिनेटमा मिकेल डेम्सगार्ड, ५९ औँ मिनेटमा युसुफ पोउल्सन, ७९ औँ मिनेटमा आन्ड्रेस क्रिष्टियन्सन र ८२ औँ मिनेटमा योआकिमले गोल गरेका हुन् ।
रुसका लागि ७० औँ मिनेटमा पाएको पेनाल्टीमा अर्तेम ड्ज्युबाले एक गोल फर्काए ।
युरोकप अन्तर्गत फिनल्याण्डसँगको पहिलो खेलको पहिलो हाफको अन्तिमतिर क्रिष्टियन एरिक्सनलाई कार्डिक अरेस्ट भएपछि डेनमार्कको समस्यामा आएको थियो ।