पदमुक्त भएका मन्त्रीहरूलाई ओलीले भने – अदालतमा कुन्नि के राजनीति छिर्यो, मलाई थाहा भएन-Sutra News

पदमुक्त भएका मन्त्रीहरूलाई ओलीले भने – अदालतमा कुन्नि के राजनीति छिर्यो, मलाई थाहा भएन

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा राजनीति छिरेको टिप्पणी गरेका छन् । मंगलवार सर्वोच्चले पदमुक्त गरिदिएका २० मध्ये केही मन्त्रीहरूसँग बालुवाटारमा कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।



छलफलमा सहभागी जसपाका एक निवर्तमान मन्त्रीले ओलीलाई उदृत गर्दै सूत्रन्यूजसँग भने, ‘प्रचण्डले हिजोको भाषणमा बोलेको कुरा र आज अदालतले गरेको फैसला उस्तै देखिएको छ, अदालतमा कुन्नी के राजनीति छिर्यो, मलाई थाहा भएन ।’

ओलीले अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने बाध्यता भएको सुनाए ।

ओलीले पदमुक्त भएका मन्त्रीहरूलाई झण्डा छोपेर गाडी चलाउन र मन्त्री क्वार्टर नछोड्न सुझाव दिएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो ।

तर ओलीलाई भेट्न गएका जसपाका निवर्तमान मन्त्री उमाशंकर अरगरियाले प्रधानमन्त्री ओलीले त्यसो नभनेको बताए ।

अरगरियाले सूत्रन्यूजसँग भने – ‘मन्त्री रहे पनि नरहेपनि लोकतन्त्रको रक्षाका लागि हामीले प्रधानमन्त्रीलाई सधैं साथ दिन्छौं भनेर भन्यौं । प्रधानमन्त्रीले अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने बाध्यता भएको सुनाउनु भयो । कुराकानी भएको त्यत्ति हो, बाहिर कसैले झण्डा छोपेर गाडी चलाउन सुझाव दिएको भन्दै प्रचार गरिदिएछ ।’

पछिल्लो दुईपटक बिस्तार गरिएको मन्त्रिपरिषदलाई असंवैधानिक भन्दै अदालतले १७ मन्त्री र ३ राज्यमन्त्रीलाई पदमुक्त हुने आदेश दिएको थियो ।

प्रतिनिधि सभा भंग भएपछि अर्को मन्त्रिपरिषद गठन नहुनेबेलासम्म कायम रहेको मन्त्रिपरिषदले काम गर्नुपर्ने प्रावधान संविधानमा उल्लेख छ । ओलीले संविधानविपरित जसपाका नेताहरूलाई मन्त्री बनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट