मंगलवार बिहान सेवा अवरुद्ध भएकोमा टेलिकमले माफि माग्दै निकाल्यो विज्ञप्ति-Sutra News

मंगलवार बिहान सेवा अवरुद्ध भएकोमा टेलिकमले माफि माग्दै निकाल्यो विज्ञप्ति

बुधबार, ९ असार २०७८

बुधबार, ९ असार २०७८

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान सवा ८ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ ।



 सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको एक विज्ञप्तिमार्फत टेलिकमले जनाएको छ ।

सो अवधिमा जिएसएम मोबाइलको २ जी, ३जी र ४ जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीई मा समस्या नआएको र जीएसएम मोबाइलका केही साना फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्स का कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहेको टेलिकमको दाबी छ ।

कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट